नेपालगञ्ज : कोहलपुरका लालबहादुर नेपालीलाई कहिल्यै भारतीय बजार रुपईडिहा जान नपरे हुन्थ्यो जस्तो लाग्छ । जब रुपईडिहा जान भारत–नेपालको सीमा नाका जमुनाहा पार गर्नुपर्ने सम्झिन्छन्, मन गह्रुँगो भएर आउँछ । ‘हमेसा बोर्डरमा समस्या भोग्नुपर्छ । बोल्न सक्नेलाई पुलिसले छाडिदिन्छन्, नसक्नेलाई तङ गर्छन् (दुःख दिन्छन),’ उनले भने ।
कोहलपुरकै हिक्मत पुनको व्यथा पनि उही हो । ‘कहिलेकाहीँ सानोतिनो घरायसी सामान लिन रुपैडिहा जानुपर्छ । पारितिरका सुरक्षाकर्मीभन्दा वारिका सुरक्षाकर्मी रुखो व्यवहार, भद्रगोल व्यवस्थापनले दिक्क लाग्छ,’ उनले भने । जमुनाहा नाका भएर सीमा वारपार गर्ने नेपालीले भोग्ने यस्तो समस्या कहिल्यै सुल्झिएन ।
वारिको बजारमा भन्दा पारि (रुपईडिहा)को बजारमा सस्तोमा सामान किन्न पान्छ भनेर अभ्यस्त बनेका नेपाली नागरिकहरु नेपाली सीमामा घण्टौं लामो लाइनले मर्का पर्ने गरेका छन् । कोहलपुर नगरपालिका–२, का शेरबहादुर रेग्मीले चेकजाँचका नाममा सुरक्षाकर्मीले अनावश्यक दुःख दिने पुरानो समस्या उस्तै रहेको बताउँछन् ।
सीमा नाकामा चेकजाँचमा कडाइ गर्नु राम्रो कुरा भए पनि दुःख दिने उद्देश्य राम्रो नभएको उनको अनुभव छ । रेग्मीले भने, ‘सीमामा सुरक्षाको नाममा अनावश्यक दुःख दिन्छन् । यो राम्रो कुरा होइन ।’ उनले सीमा नाकामा नेपालीबाटै नेपाली लुटिने, ठगिने गरेको बताउँदै स्थानीय प्रशासनले नियमन गर्न नसकेको गुनासो गरे ।
अझ सीमा क्षेत्रमा अटो रिक्सा चालकले लिने भाडामा एकरूपता नहुनु, सीमा क्षेत्रमा यात्रुलाई तानातान गर्नेजस्ता प्रवृत्तिले सीमापारि रुपैडिहा बजारबाट फर्किनेहरूलाई दुःख भइरहेको उनी बताउँछन् । ‘सीमामा अटो रिक्सा चालकहरूको ज्यादती धेरै छ । मनपरी भाडा लिइरहेका छन् । प्रशासनले उनीहरूलाई नियमन गर्नुपर्ने हो, तर छैन जस्तो लाग्यो,’ रेग्मीले भने ।
सामान्य समयमा जमुनाहा नाकाबाट नेपालगञ्जको पुष्पलाल चोकसम्म यात्रा गरेको भाडा ५०० रूपैयाँसम्म असुल्ने गरेको उनले बताए । रेग्मीले भने, ‘भारततर्फ बरु त्यस्तो छैन । यतातिर बढी भाडा लिने अटो चालकहरूलाई कारबाही गर्नुपर्छ ।’ उनले नेपालीभन्दा भारतीय सुरक्षाकर्मीले यात्रुहरुलाई व्यवस्थित रुपमा वारपारमा सहज बनाएको बताए ।
नेपालगञ्ज उपमहानगरपालिका–४ का दीपक हमालले अझ रिक्सा चालकले भारतबाट मजदुरी गरेर फर्किने नेपालीसँग सामानको समेत जोडेर महंगो भाडा असुल्ने गरेको बताए । उनले जीविकोपार्जनका लागि रासन खरिददेखि पेसा व्यवसायसम्मका लागि दुईतर्फी आउजाउ गरिरहने नेपाली नागरिकलाई नेपाली सुरक्षाकर्मीले बढी सास्ती दिने गरेको बताए ।
‘सीमा क्षेत्रमा औपचारिक आउजाउमा कडाई गरिए पनि बाँकेमा तस्करी, चोरी पैठारी मौलाएकै छ,’ हमालले भने, ‘सीमामा अनावश्यक रोकावटले सर्वसाधारणलाई मात्र सकस भएको छ ।’ औपचारिकरुपमा सीमा नाकामा कडाई गर्दा तस्करी झन् मौलाएको छ । सीमामा गरिएको कडाईले सर्वसाधारणले हैरानी पाएका छन् भने तस्करले प्रश्रय पाएको उनले बताए ।
सीमा क्षेत्रमा मदिरा, मटर, छोकरा, इलाइची, स्याउ, दैनिक उपभोग्य सामान, कपडाको तस्करी बढेको जयसपुरका रहिस इद्रिसीले बताए । उनी भन्छन्, ‘तस्करी बढ्दा सीमा क्षेत्रमा प्रहरीका घुमुवाहरुको बिगबिगी पनि बढेको छ । घुमुवाहरु अनुचित लाभ लिएर तस्करीलाई बढावा दिँदै रकम बुझाएर सामान वारपार गराउने गरेका छन् ।
सीमा नाकाको मुख्य प्रवेदद्वारमा कडाई गरेर नाकाको विकल्पमा अन्य चोर बाटो पनि घुमुवाले नै बताइदिने गरेको उनको आरोप छ । इद्रिसीले भने, ‘पारिपट्टी सहजरुपमा परिचय पत्र देखाए पुग्छ, वारितिर चेकजाँचका नाममा साइकल, मोटरसाइकल, रिक्सा सबैलाई कोचाकोच पारेर दुःख दिनुको औचित्य रहँदैन ।’
सीमा नाकामा आउजाउ गर्दा नेपालका सुरक्षाकर्मीको रुखो व्यवहारले दिक्क भएको नेपालगञ्ज–२० की मीना गौतम बताउँछिन् । ‘रुपैडिहा गएर फर्किंदा धेरैपटक नेपाली सुरक्षाकर्मीको व्यवहार सहनुपरेको छ,’ उनले भनिन्, ‘बरु भारतीय सुरक्षाकर्मीको व्यवहार नम्र, शालिन र हसिलो देखिन्छ, नेपाली सुरक्षाकर्मीले भने अपराधीजस्तो गरेर घुरेर हेर्छन् । यो राम्रो होइन ।’
भारतीय बजारबाट फर्किने नेपालीले सीमामा सुरक्षाकर्मीबाटै कतिबेला दुव्र्यवहारमा परिन्छ भन्ने मानसिक त्राससमेत हुने गरेको गौतम बताउँछिन् । उनी भन्छिन्, ‘रुपैडिहाबाट फर्किँदा पारिका सुरक्षाकर्मीभन्दा वारिका सुरक्षाकर्मीसँग डर लाग्छ ।’ त्यसो त पश्चिम नेपालको ठूलो नाकाका रुपमा रहेको नेपालगञ्जको जमुनाहा नाका दिन प्रतिदिन अस्तव्यस्त बन्दै गएको छ ।
अटोरिक्सा र पोके तस्करले कब्जामा लिँदा अहिले नेपाल–भारत जोड्ने नाका जमुनाह अस्तव्यस्त बन्दै गएको हो । रिक्सा र पोके तस्करका कारण जमुनाह नाकामा दैनिक ट्राफिक जाम हुन्छ । अटोरिक्सा नाकामै पार्किङ गरी यात्रु ओसारपसार गर्दै आइरहेका छन् । साना सवारीसाधन पनि यही नाका भएर आफ्नो गन्तव्यतर्फ जान्छन् ।
जमुनाहा नाका नेपाल–भारत आउजाउ गर्ने पश्चिम नेपालको मुख्य प्रवेशद्वार मानिन्छ । यो नाका हुँदै उपचारार्थ भारत र नेपाल जाने आउने बिरामी, पर्यटक, व्यवसायी, विद्यार्थी तथा सर्वसाधारणहरु आउजाउ गर्ने गर्दछन् । ‘सीमा नाका नै पार्किङस्थल बन्यो,’ जमुनाहाका स्थानीय मसुद कुरेसीले भने, ‘अटोरिक्साका कारण नेपालतर्फको राजमार्ग नै जाम हुन्छ ।’
उनका अनुसार सीमा नाकामा झन् भिडभाड बढेको छ । उनले सीमा नाकामा हुने ट्राफिक जामका कारण पैदल हिँड्नै समस्या हुने गरेको बताए । ‘सीमा नाकाको ट्राफिक व्यवस्थापनमा प्रहरीले चासो दिनुपर्छ, अनि मात्र यात्रुले राहत पाउँछन्,’ उनले भने, ‘यहाँ पारि (रुपैडिका)को सुरक्षाकर्मीले गरेजस्तो सवारीको लाइन मात्रै व्यवस्थापन गर्न सकेमात्रै यी समस्या टर्छन् ।’
बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले सीमा क्षेत्रमा भारतबाट फर्किने कुनै पनि नागरिकले दुःख नपाओस् भनेर सुरक्षा व्यवस्था मजबुत बनाइएको दाबी गरे । अटो रिक्सा चालकले बढी भाडा लिएको, चेकजाँचका नाममा सुरक्षाकर्मीले दुःख दिएको देखिएमा कारबाहीको दायरामा ल्याइने विष्टले बताए ।
उनले भन्सारमा भौतिक संरचना अभावका कारण केही समस्या रहेको बताए । उनले भने, ‘हामीले सीमा नाका वारपार गर्ने कुनै पनि नागरिकलाई दुःख नदिने मातहतका इकाईलाई सचेत गराइरहेकै छौं, तर सीमा क्षेत्रमा खटिएका पुलिसले पनि ध्यान कता कता लाउँछन् । हामी फेरि उनीहरुलाई सचेत गराएर व्यवस्थापन गर्न भन्छौं ।’
सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल जमुनाहाका इन्चार्ज प्रहरी नायव निरिक्षक (डिएसपी) युवराज खड्काले पनि सीमा नाकाको भीडलाई व्यवस्थापन गर्न लागिपरेको बताए । उनले भने, ‘सीमा नाकामा सडक लेन व्यवस्थापन गर्न सडक डिभिजन कार्यालयसँग डिभाइडर माग गरेका छौं । डिभाइडर आउने वित्तिकै त्यो समस्या न्यूनीकरण हुनेछ ।’
इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरिक्षक (इन्स्पेक्टर) किरण मल्लले आफू भर्खरै सरुवा भएर आएको र एक दुई दिनमै सहज व्यवस्थापन हुने बताए । उनले भने, ‘हामीले व्यवस्थापनका लागि अधिकतम प्रयास गरिरहेका छौं, मलाई दुई दिनको समय दिनुस्, दुई दिनभित्र यहाँको व्यवस्थापन पूर्णरुपमा सहज हुनेछ ।’
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार