Listen LIVE

नौबस्ता बालसुधार गृहका बालकहरुलाई अंग्रेजी भाषा सिकाईंदै

नेपालगञ्ज : कानुनी विवादमा परेका बालकहरुको लागि तीन महिने अंग्रेजी भाषा सिकाई कक्षा सञ्चालन गरिएको छ । अधिकारवादी संस्था एडभोकेसी फोरम नेपालले बाल सुधार गृह नौबस्ता, बाँकेसँगको सहकार्यमा ४० जना कानुनी विवादमा परेका बालकहरुको लागि कक्षा सञ्चालन गरेको हो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले अंग्रेजी भाषा कक्षाले बालकहरुको शैक्षिक स्तर अभिवृद्धिमा सहयोग पुग्ने जनाउँदै ब्यवहारमा उतार्ने गरी तालिमको भरपुर उपभोग गर्न बालकहरुलाई आग्रह गरे ।

एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले बालकहरुले माग बमोजिम उनीहरुको पढ्न पाउने अधिकारको सम्मान गर्दै शैक्षिक स्तरमा वृद्धि गरी करिअर बनाउने र थुनामुक्त भएपछि समाजमा पुर्नस्थापनामा सहयोग मिलोस् भन्ने उदेश्यका साथ अंग्रेजी कक्षा सञ्चालन गरिएको बताए ।

अंग्रेजी आषा सिक्दै गरेका बालकहरुले तालिम आफूहरुको लागि निकै फलदायी हुने जनाउँदै तालिम सञ्चालन गरेकोमा एड्भोकेसी फोरमलाई धन्यवाद दिएका थिए ।

अंग्रेजी विषयका शिक्षक वीरबहादुर चौधरीले दैनिक एक घण्टाका दरले तीन महिनासम्म बालसुधार गृहमा कक्षा सञ्चालन गर्नेछन् ।

प्रतिक्रिया