Listen LIVE

मोटरसाइकल दुर्घटनामा परी बाँकेमा तीन जनाको मृत्यु

नेपालगञ्ज : बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

राप्तीसोनारी गाउँपालिका ४ लालपुर चोकमा बुधबार अपरान्ह दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा राप्तीसोनारी ४ का ३५ वर्षीय रामशरण थारु, राप्तीसोनारी ३ खैरेनीका १८ वर्षीय बसन्त थारु र बर्दियाको राजापुर–४ घर भई हाल राप्तीसोनारी–४ धामपुर बस्ने ३१ वर्षीय अजय दहितको मृत्यु भएको इलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ । 

प्रहरीका अनुसार भे १२ प ३९९५ र भे १२ प ४८२८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका तीन जनाको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो । रामशरण र बसन्तको बुधबार  साँझ र अजयको गएराती मृत्यु भएको हो । 

त्यसैगरी भे १२ प ४८२८ नम्बरको मोटरसाइकलको पछाडि सवार राप्तीसोनारी–३ खैरेनीका १६ वर्षीय संगीत थारु र वडा  नम्बर ३ खैरेनीकै २१ वर्षीय संजय थारु घाइते छन् । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । तीब्र गतिका कारण दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया