बर्दिया : भारतको बहराइच जिल्लासँग जोडिएको ८३ किलोमिटर लामो खुला सीमा भएको बर्दिया जिल्लामा पछिल्ला वर्ष मानव ओसारपसारका घटना वृद्धि भइरहेका छन् ।
खुला सीमाको फाइदा उठाउँदै मानव बेचबिखनमा संलग्न दलालले विशेष गरी किशोरी र महिलालाई भारत पु¥याउने गतिविधि हुने गरेका छन् ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका क्षेत्रमा क्रियाशील संस्था माइती नेपालका अनुसार चालु आर्थिक वर्ष २०८१–८२ मा मात्रै बर्दियाका विभिन्न नाकाबाट २८२ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २१० जना १८ वर्षमुनिका किशोरी र बाँकी ७२ जना वयस्क महिला रहेको विवरणमा उल्लेख छ ।
माइती नेपाल बर्दियाका अनुसार गत वर्षको तुलनामा यस वर्ष उद्धार हुनेको सङ्ख्या केही घटेको भए पनि जोखिमको स्वरूप अझै उस्तै र डरलाग्दो रहेको छ । दलालले बजार घुम्न, कामका लागि वा सीमापारका आफन्त भेट्न भन्दै किशोरीलाई लोभलालचमा पारेर भारत पुर्याउने गरेको माइती नेपालले जनाएको छ ।
बर्दियाको गुलरिया नगरपालिका, बढैयाताल गाउँपालिका र राजापुर नगरपालिकाका सीमाक्षेत्र दलालको मुख्य मार्ग बनेका छन् । विशेष गरी गणेशपुर, चितलहवा, जमुनी, शीतलाबजार, कर्तनिया नाका र बठनिया बजारबाट महिला लैजाने क्रम रोकिएको छैन ।
गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतमका अनुसार दैनिक सीमा गस्ती हुने गरे पनि दलालले खुला सीमाको कमजोर सुरक्षालाई सहजै प्रयोग गरिरहेका छन् । उनले भनिन, “सिमाना खुला भएकाले प्रहरीले हरेक व्यक्तिलाई जाँच्न कठिन हुन्छ, त्यसैको फाइदा दलालले उठाइरहेका छन् ।”
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले सीमाक्षेत्रमा गैरसरकारी संस्थाहरूसँग समन्वय गर्दै मानव बेचबिखन नियन्त्रण अभियान सञ्चालन भइरहेको बताए । उनले भने, “प्रहरी र माइती नेपालबिचको समन्वयमा धेरै जनाको उद्धार भएको छ, अझ कडाइका साथ निगरानी बढाइने छ ।”
नेपाल–भारत सीमा खुला हुनु र सीमापार भारततर्फ कर्तनिया वन्यजन्तु आरक्ष रहेको हुनाले पनि दलाललाई लुकीछिपी आवागमन गर्न सजिलो हुने गरेको छ । यस कारण बर्दियाका सीमाक्षेत्रमा विशेष सुरक्षा निगरानी र चेकपोस्ट सुदृढीकरण आवश्यक रहेको सरोकारवाला बताउँछन् ।
माइती नेपाल बर्दियाकी प्रमुख गायत्री रिमालले जोखिम नियन्त्रणका लागि सरकारी निकाय, स्थानीय तह र समुदाय सबै एकजुट भएर काम गर्नुपर्ने बताइन् । उनले भनिन, “मानव बेचबिखन केवल प्रहरी वा केही गैससको जिम्मा होइन, यो सामूहिक उत्तरदायित्व हो ।”
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार