Listen LIVE

नरैनापुरका विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी

नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाका विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ । दिवा खाजाले नरैनापुरका बालबालिकालाई विद्यालय आउन प्रेरित गरेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । 

दिवा खाजाको व्यवस्था गरिएपछि विद्यालय आउन नचाहने बालबालिका पनि विद्यालय आउन थालेको शिक्षा शाखा प्रमुख कृष्णकुमार चौधरीले बताए । उनले दिवा खाजाले विद्यार्थीलाई नियमित विद्यालय आउने बनाएको जनाउँदै भर्ना भएर विद्यालय छोड्ने विद्यार्थी पनि नियमित विद्यालय आउन थालेको बताए । 

विद्यालय खाजाकै आकर्षणले पछिल्लो समय नरैनापुरका विद्यालयका कक्षा कोठा विद्यार्थीले भरिभराउ हुने गरेको पाईएको शिक्षा शाखाले जनाएको छ । विद्यार्थीलाई नियमित विद्यालय आउने बनाउन गाउँपालिकाले पालिकाभित्रका बालविकास केन्द्र, सामुदायिक विद्यालय र मदरसामा अध्ययनरत विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले पौष्टिक तत्व भएको खाजा खुवाउने गरेकोले एकातिर बालबालिकाको स्वास्थ्य राम्रो हुन थालेको र अर्कोतिर विद्यालयमा अनुपस्थित हुने क्रम पनि घट्दै गएको बताए । उनका अनुसार दिवा खाजामा हलुवा, दलिया, खिचडी लगायतका परिकार विद्यार्थीलाई खुवाउने गरिएको छ । संघीय सरकारको सशर्त अनुदानमा दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । 

दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई विद्यालयतर्फ आकर्षित गरेको जनाउँदै नरैनापुर शिक्षा शाखाका प्राविधिक सहायक कमल केसीले दीवा खाजासँगै विद्यालयहरुले गुणस्तरीय शिक्षा पनि प्रदान गर्न थालेकोले ड्रप आउट हुने क्रम पनि निकै कम भएको बताए । 

दिवा खाजा सञ्चालनमा आएपछि विद्यालय बाहिर रहेका विद्यालय जाने उमेर समुहका करिव २०–२५ प्रतिशत विद्यार्थी भर्ना भई नियमित विद्यालय आउन थालेको जानकारी विद्यालयहरुबाट प्राप्त भएको शिक्षा शाखाले जनाएको छ । 

यसअघि बालबालिकाहरु विद्यालयमा भर्ना हुने तर विद्यालय नआउने चलन थियो । तर, अहिले दिवाखाजाले कक्षा कोठा भरिभराउ भएको र प्रायःजसो विद्यार्थी नियमित विद्यालय आउन थालेको जनाईएको छ ।

प्रतिक्रिया