Listen LIVE

भ्रष्टाचार भएको भन्दै भोली नरैनापुरमा बन्दको आह्वान

नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा शिक्षा क्षेत्रमा व्यापक अनियमितता, भ्रष्टाचार र लापरवाही भएको भन्दै विद्यार्थी, स्थानीयवासी तथा सरोकारवाला समूह नै आन्दोलित भएका छन् । नरैनापुर गाउँपालिकामा शैक्षिक माफियाको संगठित गिरोह सक्रिय रहेको आरोप लगाउँदै त्यसको संयोजकका रूपमा शिक्षा शाखा प्रमुख कृष्णकुमार थारु रहेको दाबी गरेका छन् । उनीमाथि गम्भीर भ्रष्टाचारका आरोप रहेकाले तत्काल बर्खास्ती गरी निष्पक्ष छानबिन गर्नुपर्ने स्थानीयबासीहरुको माग छ । 

स्थानीय तथा पत्रकार विनय दीक्षितले विद्यालयमा अझैसम्म स्थानीय पाठ्यक्रम लागू हुन नसकेको भन्दै त्यसका लागि विनियोजन गरिएको बजेट कहाँ खर्च भयो भन्नेबारे कसैलाई जानकारी नभएको प्रश्न उठाए । उनका अनुसार शिक्षा शाखाले बजेट छुट्याए पनि त्यसको पारदर्शिता छैन । शिक्षा शाखाको संरक्षित भ्रष्टाचारले  विद्यार्थीको दिवा खाजामा ठुलो भ्रष्टाचार भएको र लाखौं रुपैयाँ दिवा खाजाका नाममा खर्च देखाइए पनि विद्यालयमा विद्यार्थीले चिउरा, नमकिन र पानी मात्रै खान बाध्य भएको देखिएको दिक्षितको भनाइ छ । यस विषयमा तत्काल अनुसन्धान हुनुपर्ने माग गरिएको उनले बताए ।

विद्यालयमा भौतिक संरचना अभाव, डेस्क–बेन्चको कमी, तथा खानेपानी अभावसमेत रहेको आन्दोलनकारीको आरोप छ । खानेपानीका लागि लाखौं खर्चेर जडान गरिएका वाटर प्युरीफायर मेसिन आजसम्म सञ्चालनमा नआएको जनाइएको छ ।

त्यस्तै, विद्यालयका लागि खरिद गरिएका विद्युतीय उपकरण विद्यालयमा नराखी प्रधानाध्यापकहरूको घरमा जडान गरिएको देखिएको भन्दै यसले गर्मीको समयमा विद्यार्थीहरूलाई चरम सास्ती भोग्न बाध्य बनाएको उनीहरूले बताएका छन् ।

विद्यालयमा विद्यार्थीका लागि कुनै पनि आधारभूत सुविधा उपलब्ध नभएको र त्यसको पूर्ण जिम्मेवारी शिक्षा शाखा प्रमुखले लिनुपर्ने आन्दोलनकारीको माग छ । शिक्षा क्षेत्रमा यति धेरै भ्रष्टाचार हुँदा पनि गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले कुनै कदम नचालेको आरोप समेत लगाइएको छ ।

स्थानीयवासीका अनुसार विद्यालयसँग सम्बन्धित धेरै भ्रष्टाचारका उजुरी शिक्षा शाखामा जानकारी गराउँदा पनि कुनै कारबाही नभएकाले सबै पक्ष मिलेमतोमा रहेको स्पष्ट देखिएको छ । आन्दोलनकारीहरूले एसईई परीक्षामा नतिजा शून्य जस्तै हुनु, अनुगमनको अभाव, विषयगत शिक्षकको कमी तथा शिक्षक नियुक्तिमा लेनदेन हुने जस्ता कारणले शिक्षा क्षेत्र अन्धकारतर्फ गएको बताए ।

शिक्षा शाखा मौन रहँदा नरैनापुर गाउँपालिकाको शिक्षा क्षेत्रमा गहिरो र संगठित भ्रष्टाचार भइरहेको स्पष्ट देखिने स्थानीयको आक्रोशपूर्ण निष्कर्ष छ । आन्दोलनकारीहरूका अनुसार शिक्षा शाखा प्रमुख पदबाट हटेपछि मात्रै दोस्रो चरणको वार्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग गरिनेछ । बुधबार नरैनापुरमा एक दिने चक्काजामसहित धर्ना कार्यक्रम गरिएको थियो भने भोलि नरैनापुर बन्दको घोषणा गरिएको दिक्षितले जानकारी दिएका छन् ।

प्रतिक्रिया