Listen LIVE

पहलगाममा आतंकी हमलापछि जमुनाहा नाकामा कडाइ

नेपालगञ्ज : भारतको कश्मीरमा पर्यटकहरूमाथि भएको आतङ्कारी हमलापछि यहाँस्थित नेपाल–भारत नाकामा भारतीय सुरक्षा निकायले हाइ अलर्ट जारी गर्दै जाँचमा कडाइ सुरु गरेको छ ।

यहाँस्थित जमुनाहा नाकाबाट आवागमन गर्ने हरेक नेपाली र भारतीय नागरिकसँग सोधपुछ गरेर उनिहरूको परिचयपत्र हेरेर मात्रै आवागमन गर्न दिइएको भारतीय सुरक्षा निकाय सशस्त्र सीमा बलले जनाएको छ ।

नाकाबाट आवागमन गर्ने सवारी साधनहरूमाथि पनि कडा निगरानी राखिएको र तालिम प्राप्त कुकुरहरूबाट जाँच गरेर मात्रै आवागमन गर्न दिइएको सशस्त्र सीमा बल एसएसबीका कमान्डेन्ट गंगासिंह उदावतले बताए ।

उनले नेपाल–भारतको नेपालगञ्ज नाका पनि निकै संवेदनशिल मानिएकाले यो नाकामा जाँच बढाउनुका साथै प्रहरी र एसएसबीको टोलीले निरन्तर ग्रामीण क्षेत्रहरूमा समेत गस्ती गरिरहेको बताए ।

यो नाकामा आवागमन गर्ने हरेक व्यक्तिसँग विस्तृत सोधपुछ गर्नुका साथै कडा जाँच गरेर मात्रै आवागमन गर्न दिइएको भारतीय रुपईडिहा थानाका इञ्चार्ज प्रहरी निरीक्षक ददनसिंहले बताए ।

उनले केन्द्रबाट नै सीमा नाकामा कडाइ गर्ने र आवागमन गर्ने हरेकमाथि कडा निगरानी गर्ने निर्देशन आएकाले सोही बमोजिम नाकामा कडाइ गर्नुका साथै गस्ती बढाइएको बताए । 

भारतको कश्मीरको पहलगाममा भएको आतङ्कारी हमलामा एक जना नेपाली नागरिकसहित २८ जना पर्यटकको हत्या भएको थियो । सोही घटनापछि भारतले आफ्नो देशसँग सीमा जोडिएका सबै नाकामा हाइ अलर्ट र कडाइ सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया