Listen LIVE

जितिया पर्वका लागि आज दर खाँदै मिथिलाका महिला

काठमाण्डौ : मधेशको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितियाको रौनक शुरु भएको छ। आइतबारको निराहार व्रतअघि मिथिलाका महिला शनिबार ओगटन (दर खाने) गर्नेछन्। 

प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष (आश्विन कृष्ण पक्ष) को अष्टमी तिथिमा सन्तानको कल्याण कामना गर्दै यो पर्व मनाउँछन्। व्रतअघिको रात ‘ओगटन’ खाने चलन छ। ओगटनमा दहीचिउरा र मिष्टान्न परिकारसहितका सात्विक भोजन गरिन्छ। एक अहोरात्रको जितिया व्रत भोलिपल्ट नवमी तिथि एक घडी कटाएर समापन गरिन्छ।

मिथिलामा विद्यापति पञ्चाङ्ग र मिथिला पञ्चाङ्गका आधारमा व्रतको टुङ्गो गरिन्छ। यस अनुसार यो वर्ष जितियाको समापन सोमबार बिहान ७ बजे हुने राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड शिक्षक शोभाकान्त झाले बताए।

जितिया व्रत सन्तानको सुख, समृद्धि र सौर्यवृद्धिको कामनासहित आमाहरूले गर्ने पर्व हो। मिथिला क्षेत्रका सबै जातजाति समुदायमा यो पर्व परम्परा भए पनि थारुहरू यसलाई विशेष महत्वका साथ मनाउँछन्।

व्रतालु महिलाले एक दिनअघिअर्थात् सप्तमी तिथिमा बिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य दिएर व्रतको सङ्कल्प गर्छन्। 

यसैक्रममा बर्तालुुले दिवङ्गत सासू, जेठानी–देउरानी, बूढीसासू, नन्द–आमाजू, माइतीपक्षका तीन पुस्ताभित्रका आमा, बज्यै,र तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने परम्परा छ। यी पितृसँग सन्तानको कल्याणको कामना राखिन्छ।

प्रतिक्रिया