Listen LIVE

बाँकेको बैजनाथमा पालिकास्तरीय अन्तरक्रिया

बैजनाथ (बाँके) : जिल्लास्थित बैजनाथका सहकारी संस्थाहरूको समन्वय, सहजीकरण र समृद्धिमा केन्द्रीत हुँदै जिल्ला सहकारी संघ बाँकेले पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम बैजनाथ गाउँपालिका–३, बैरहवामा सम्पन्न गरेको छ ।

संघको आयोजना र सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको सहकार्यमा आयोजित उक्त कार्यक्रम “सहकारीहरूको उत्पादन, प्रसोधन तथा बजारिकरणमा भूमिका कस्तो हुनसक्छ ?” भन्ने मूल विषयमा केन्द्रीत थियो । कार्यक्रममा बाँके जिल्लाका विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रबन्धकहरू सहित करिब पाँच दर्जन प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहकारीहरूको दिगो विकासका लागि नीति निर्माणदेखि व्यावसायिक जोखिम व्यवस्थापन सम्मका बहुपक्षीय विषयमा गहन छलफल भएको जिल्ला सहकारी संघका बैजनाथ सेवा केन्द्र प्रमुख विजय चौधरीले वताए ।

संघका अध्यक्ष प्रेम प्रसाद सुबेदिले कार्यक्रमको अध्यक्षता गर्दै सहकारी संस्थाहरूलाई कसरी उत्पादनमुखी, समाजमुखी र दिगो बनाउन सकिन्छ भन्ने विषयमा संघले अघि सारेका कार्यदिशाबारे जानकारी गराए । उनले भने, “सहकारीहरूलाई धेरैभन्दा धेरै लाभ पुर्याउने रणनीतिक कार्यक्रमहरू अगाडि बढाउन संघ सधैं प्रतिबद्ध छ । सहकारीहरूको सहजीकरण, प्रबद्र्धन, अनुगमन र नियमनका प्रक्रियाहरूलाई व्यवस्थित बनाउन अब संघले आफ्ना  स्रोत,साधनहरु परिचालित गर्नेछ ।”

संघका प्रमुख कार्यकारी अधिकृत नवराज उपाध्यायले सञ्चालन गरेको कार्यक्रममा लेखा संयोजक जगतबहादुर बिसीले सहकारीहरूको प्रबद्र्धन, निगरानी र पारदर्शिताका पक्षमा संघले लिएको भूमिकाबारे सहभागीहरूलाई जानकारी गराउदै उपस्थित सहकारीकर्मीहरुलाई स्वागत गरेका थिए ।

सो अवसरमा सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीका अधिकृत कमल शाहीले सहकारी सदस्यहरूको वित्तीय सुरक्षा र जोखिम न्यूनिकरणका लागि बीमा कार्यक्रमहरूको उपयोगिता र नीतिहरूबारे प्रस्तुति दिएका थिए । उनले सहकारीहरूसँग साझेदारीमा बीमा सेवाको पहुँच विस्तार गर्न सकिने सम्भावनाबारे समेत धारणा राखे ।

कार्यक्रमले सहकारी प्रतिनिधिहरूबीच आपसी अनुभव आदान–प्रदान, रणनीतिक सहकार्य र सहकारी आन्दोलनको सशक्तीकरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको जिल्ला सहकारी संघका अध्यक्ष सुवेदीको दावी रहेको छ ।

प्रतिक्रिया