Listen LIVE

थारू समुदायका मौलिक गरगहना लोप हुँदै

दाङ : थारू समुदायका महिलाहरूले लगाउने मौलिक गरगहना लोप हुँदै गएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएका थारू समुदायको आफ्नै मौलिक भेषभूषा तथा गरगहना रहेको पाइन्छ । विशेषगरी दाङदेखि पश्चिम कञ्चनपुरसम्मका थारूको गहना विशेष किसिमको पाइन्छ । पाउदेखि शीरसम्म  लगाउने गहना विशेषगरी चाँदी हुने गर्छन् । तर पछिल्लो समय उक्त पुराना गहना लोप हुँदै जान थालेका छन् ।

“पहिला पाउँदेखि शिरसम्म थारू महिलाले लगाउने गरगहना चाँदीको हुन्थ्यो ।,’’ घोराही १७ की शान्ता चौधरीले भनिन, ‘‘अहिले हराएको छ । कोही कोहीलर निधारमा सुनको टिकुली र नाकमा लगाउने नथिया सुनको लगाउँथे, अरु सबै चाँदीको गहना हुन्थ्यो ।’’

उनका अनुसार कपालमा चाँदीको सगिया, जुर्रा वा मगौरी, निधारमा सुनको वा  टिकुली, नाकमा सुनको बुलाकी, नथ्या, फेंफी वा फुली, कानमा चाँदीको हुन्थ्यो । यस्तै, घाँटीमा लगाउने गुर्या, सिक्री, टरिया, औँठी सबै चाँदीको हुन्थ्यो ।

त्यसैगरी, गटैया, कनसेहरी, सुटिया वा टोक, हातमा लाखक चुरिया, सुन वा चाँदीको मुन्द्री, काचको चुरिया, चाँदीको लगुरही, टरिया, विजाइट र खुट्टामा चाँदीको विछिया, रुन्झुन, छारा, पैरी कारा वा चुरुवा थारू महिलाका मौलिक पुराना मौलिक गरगहना भएको चौधरीले बताइन् । “पहिला पहिला थारू गाउँमै गएर सुनारले थारू परम्परागत गहना बनाउन आउनुहुन्थ्यो, अब उहाँहरू पनि आउनुहुन्न र धेरैले सुनको गहना बनाउन थालेपछि चाँदीको गहना लोप भएको हो की,’’ उनले भनिन, ‘‘नयाँ पुस्ताकोमा पूराना गहनाको मन नपरेको हुनसक्छ ।’’

“पहिला जस्तो चाडपर्व पनि अहिले हुँदैन,’’ उनले भनिन, ‘‘पहिला थारू समुदायमा चाडपर्व अनुसार नाचगान हुन्थ्यो, थारू महिलाहरु मौलिक भेषभुषामा परम्परागत गरगहना लगाउँथ्ये, अहिले नाचगान पनि हुँदैन गरहना पनि लोप हुँदैछ ।’’ नयाँ पुस्ताको लागि आधुनिक गहनातर्फ आकषिर्त हुन थालेपछि पूराना गहना लगाउने परम्परा हराउँदै गएको उनको भनाइ थियो ।

प्रतिक्रिया