Listen LIVE

विद्यार्थी घटेपछि रुकुमपश्चिममा परीक्षा केन्द्र हटाइयो

रुकुमपश्चिम : रुकुमपश्चिममा माध्यमिक तह परीक्षा (एसइई) दिने विद्यार्थी सङ्ख्या कम भएपछि परीक्षा केन्द्र घटाइएको छ । यस वर्ष जिल्लाका विभिन्न आठ विद्यालयमा हुने आठ वटा परीक्षा केन्द्र हटाएको हो । 

एसइईमा यसभन्दा पहिलेको वर्षमा जिल्लाभरमा २३ वटा परीक्षा केन्द्र रहेकोमा यस वर्षदेखि भने १५ वटा परीक्षा केन्द्रहरू कायम गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ रुकुमपश्चिमका प्रमुख ताराप्रकाश पुनका अनुसार परीक्षा केन्द्रहरूमा विद्यार्थीको सङ्ख्या कम भएकाले जिल्लाभरबाट आठ वटा परीक्षा केन्द्र हटाएको हो । 

मुसीकोट र चौरजहारी नगरपालिकाबाट दुई–दुई वटा र आठ बिसकोट नगरपालिका, त्रिवेणी, सानीभेरी, बाँफीकोट गाउँपालिकाबाट एक–एक वटा विद्यालयका परीक्षा केद्र हटाएको हो । 

एकाइ प्रमुख पुनले मुसीकोट नगरपालिकास्थित बाल कल्याण मावि झुल्खेत र महेन्द्र मावि छिवाङ, चौरजहारी नगरपालिकास्थित मावि कोटजहारी र भ्याली पब्लिक सेकेन्डरी बोर्डिङ स्कुल र आठ बिसकोट नगरपालिकास्थित नेपाल राष्ट्रिय माविको परीक्षा केन्द्र हटाइएको बताए । 

त्यसैगरी त्रिवेणी गाउँपालिकामा रहेको हिमालय जनता मावि नुवाकोटडाँडा, सानीभेरी गाउँपालिकामा रहेको बालज्योति मावि गिठाकोट र बाँफीकोट गाउँपालिकामा रहेको जनकल्याण मावि पिपलमा रहेको परीक्षा केन्द्र हटाएको छ । यस वर्षदेखि एसइइको परीक्षा केन्द्रहरू पालिका स्तरिय बनाएको र एउटा परीक्षा केन्द्रमा २५० जना परीक्षार्थी हुनुपर्नेमा विद्यार्थीको सङ्ख्या कम भएकाले परीक्षा केन्द्र हटाएको एकाइ प्रमुख पुनले जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रक कार्यालयलले कक्षा १० को परीक्षा सञ्चालन सम्बन्धी २०८१ साल माघ २ गतेको परिपत्र अनुसार प्रति परीक्षा केन्द्रमा २५० जना विद्यार्थी सङ्ख्यामा हुनुपर्ने निर्णय अनुसार निर्णय कार्यान्वयनमा ल्याइएको बताइएको छ । देशैभरबाट आगामी चैत ७ गतेबाट एसइई सञ्चालन हुँदैछ । रुकुमपश्चिमका साधारण तथा खुला गरेर तीन हजार ६६८ विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।

बाँफिकोट गाउँपालिका–२ का वडाध्यक्ष प्रकाश खत्रीले वडा तथा पालिकास्तरिय शिक्षा समितिलाई जानकारी नदिएर सुटुक्क परीक्षा केन्द्र हटाइएकोमा आक्रोश व्यक्त गरे । 

माथिल्लो निकायको निर्देशनको बहानामा पहाडी क्षेत्रको भौगोलिक विकटता, परीक्षाको समयमा विद्यार्थीले डेरा खोज्नुपर्ने बाध्यता लगायतलाई ख्याल नगर्नुले विद्यार्थीलाई तनाव सिर्जना भएको उनको भनाइ छ । उनले यस विषयमा पुनर्विचार गर्न समेत अनुरोध गरे ।

प्रतिक्रिया