नेपालगञ्ज : मध्यपश्चिम स्रष्टा समाजले वीरगन्ज निवासी साहित्यकार गोपाल अश्कद्वारा लिखित कथा सङ्ग्रह ‘कालो गुलाफ’लाई ‘सनत रचना कथा सम्मान २०८०’ बाट नेपालगन्जमा सम्मान गरेको छ । समाजले कथा सङ्ग्रहका लेखक अश्कलाई नेपालगन्जमा एक कार्यक्रम गरी सम्मान गरेको हो ।
वरिष्ठ साहित्यकार प्रा. डा. कृष्णप्रसाद घिमिरेले साहित्यकार अश्कलाई उक्त सम्मानपत्र हस्तान्तरण गरे । ‘सनत रचना कथा सम्मान’ नेपालगञ्जका वरिष्ठ कथाकार सनत कुमार रेग्मीले आफू र जीवनसंगिनीको नाममा स्थापित गरेको सम्मान हो ।
कथा, कविता, गजललगायतका विभिन्न विधामा रचना गर्दै आएका अश्क भाषा आयोगका सदस्यसमेत हुन् । सम्मानपत्र हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. घिमिरेले अश्क अनुभूतिलाई विचारमा घोलेर रचना गर्ने कथाकार भएको टिप्पणी गरे ।
नगद ११ हजार १११ रुपैयाँ राशीसहितको उक्त सम्मान कार्यक्रममा अश्कको व्यक्तित्वमाथि साहित्यकार हरि तिमिल्सेना र कालो गुलाफमाथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य शशीराम कार्कीले प्रकाश पारेका थिए । प्राज्ञ कार्कीले अश्कका कथाहरू यथार्थवादी धारका रहेका र अधिकांश कथाका कथामा वीरगन्ज तथा मधेशको परिवेश आउने गरेको बताए ।
कार्यक्रममा बोल्दै सम्मानित कथाकार अश्कले आफूले धेरैजसो पात्रहरू आफ्नो वरिपरिका र कतिपय पात्रमा आफैँलाई लेखेको बताए । उनले सम्मानले आफूलाई थप जिम्मेवार बनाएको पनि सो अवसरमा बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार