Listen LIVE

नेपालगञ्जमा गायक निर्मोहीसहित तीन जना सम्मानित

नेपालगञ्ज : यस वर्षको शाश्वत आचार्य स्मृति पुरस्कार मृगौला रोगबाट पिडित चर्चित लोकगायक कमल विक निर्मोही र दुईजना वरिष्ठ साहित्यकारसहित तीन जनालाई प्रदान गरिएको छ । 

स्व. शाश्वत आचार्यको २१औं स्मृति दिवस पारेर आयोजित औपचारिक कार्यक्रम बीच सो पुरस्कार मृगौला रोगबाट थला परेका चर्चित लोकगायक निर्मोही, नेपालगञ्जका वरिष्ठ उर्दु गजलकार अब्दुल लतिफ शौक र दाङ्गका समीक्षक कमल मणि देवकोटालाई प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर कृष्णप्रसाद घिमिरे, प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डाक्टर जनार्दन आचार्य र स्वर्गीय शाश्वत आचार्यकी ममतामयी माता वरिष्ठ साहित्यकार किरण आचार्यले पुरस्कृत व्यक्तित्वहरूलाई नगद राशी १० हजारसहित कदर पत्र प्रदान गरे । 

प्रा.डा. आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा अस्वस्थ अवस्थामा रहेका निर्मोहीको तर्फबाट छोरा शैलेन्द्रले पुरस्कार तथा कदर पत्र ग्रहण गरे । पुरस्कृत व्यक्तित्वहरूका बारे गजलकार खगेन्द्र गिरी कोपिलाले चर्चा गरेका थिए भने उनीहरूको अभिनन्दन पत्र प्राध्यापक डाक्टर गोपालप्रसाद अधिकारीले वाचन गरेका थिए । 

सोही कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिमूलक व्यक्तित्वहरूलाई यस बर्षको शाश्वत स्मृति सम्मान प्रदान गरिएको छ । गायक तथा लोक संस्कृतिका अध्येता डाक्टर गोविन्द आचार्य, बालरोग विशेषज्ञ डाक्टर विजय प्रधान, सामाजिक अभियन्तासमेत रहेका प्लाष्टिक सर्जन डा. विनोद कर्ण, हरित अभियन्ता हेमन्तराज काफ्ले, पत्रकार झलक गैरे र खेलकुद क्षेत्रमा उत्प्रेरक भूमिका खेलिरहेका धारा नेपालगञ्ज म्याराथनका संस्थापक टिएस ठकुरीलाई शाश्वत स्मृति सम्मान २०८२ प्रदान गरियो । 

‘निस्वार्थ भावले समाजलाई योगदान दिइरहेका व्यक्तित्वहरूको हौसलाका लागि यो पुरस्कार र सम्मान प्रदान गरिएको हो’, प्रतिष्ठानका अध्यक्ष प्रा.डा. आचार्यले भने ।

सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकाल, सम्मानित व्यक्तित्व डा. कर्ण, डा. आचार्यले विद्यमान साहित्यिक अवस्था र संस्थाले खेल्नुपर्ने भूमिकाबारे आफ्ना धारणा राखेका थिए । 

विभिन्न साहित्यिक व्यक्तित्वहरूले गीत, गजल, कथा, कविता प्रस्तुत गरेर शाश्वत आचार्यको २१औं जन्मजयन्तीलाई साहित्यिक संगमका रूपमा सफल बनाएको प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डाक्टर जनार्दन आचार्यले बताए ।

प्रतिक्रिया