जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाको सहयोगमा भेरी साहित्य समाज केन्द्रीय समितिको भाषा तथा समालोचना विभागद्वारा आयोजित ‘जानकी पर्यटन प्रवद्र्धन तथा साहित्यिक महोत्सव’ भव्य रूपमा सम्पन्न भएको छ । साहित्य, संस्कृति र पर्यटनको संगम बनेको उक्त कार्यक्रमले जानकीलाई दिगो पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्ने साझा प्रतिबद्धता व्यक्त गरेको छ ।
समाजका अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष राम प्यारी यादव र प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले संयुक्तरूपमा उदघाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष छब्बन खाँले जानकीलाई पर्यटनमैत्री पालिका बनाउने लक्ष्य रहेको उल्लेख गर्दै दिगो र समावेशी पर्यटन नै समृद्धिको आधार भएको बताए । प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले पर्यटन नीति निर्माण गर्ने प्रतिबद्धता जनाउँदै दीर्घकालीन योजना र स्पष्ट कार्यदिशा आवश्यक रहेको धारणा राखे ।
वडा नं. ५ का अध्यक्ष एवं पालिकाका प्रवक्ता टिकानाथ यादवले जानकी पर्यटनको उर्वर भूमि भएको बताउँदै सरोकारवालासँग सहकार्य गरेर पर्यटन प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरे । समाजका महासचिव सुन्दर गुरुङले साहित्य र पर्यटन एकअर्काका परिपूरक क्षेत्र भएको धारणा राखे ।
कार्यक्रममा डा. राजकुमार थारुले कार्यपत्र प्रस्तुत गर्दै जानकी ६३.३२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको र ५५ वटा निर्माण कम्पनी दर्ता रहेको तथ्य उल्लेख गरे । उनले औद्योगिक अध्ययन प्रतिष्ठान स्थापना, धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षण र वाङ्मय प्रतिष्ठानको स्थापना गर्न सके जानकी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सक्षम हुने सुझाव दिए ।
पर्यटन विज्ञ श्रीराम सिग्देलले बाँके हालसम्म दिगो पर्यटन गन्तव्य बन्न नसकेको उल्लेख गर्दै यसलाई केवल ‘गन्तव्य’ मात्र नभई दीर्घकालीन योजना र गुरुयोजना निर्माणमार्फत सशक्त पर्यटन केन्द्र बनाउनुपर्नेमा जोड दिए । जानकीका वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीले गुरुयोजना निर्माण गरी व्यवस्थित ढंगले पर्यटन प्रवद्र्धनका काम अघि बढाइने जानकारी दिए ।
कार्यक्रममा सनत रेग्मी, अब्दुल लतिफ शौक, प्राज्ञ महानन्द ढकाल, हरि प्रसाद तिमिल्सिना, नरेन्द्रजङ पिटर, भारतीय साहित्यकार राम बहादुर मिश्रा लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साहित्यकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागी साहित्यकारहरूलाई सम्मानसमेत गरिएको थियो ।
उक्त अवसरमा ‘दौँतरी’ नामक पुस्तकको समेत विमोचन गरिएको थियो । साहित्यिक ऊर्जा र पर्यटन सम्भावनालाई एकै मञ्चमा उभ्याउँदै सम्पन्न भएको यो महोत्सवले जानकीलाई सांस्कृतिक तथा दिगो पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने दिशामा नयाँ आशा जगाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार