नेपालगञ्ज : नेपालगञ्ज वडा नम्बर १८ मा नेपाली काँग्रेसको पार्टी वडा कार्यालय भवनको निर्माण अहिले द्रुत गतिमा अघि बढिरहेको छ । नेपाली काँग्रेसका पूर्व सभापति, पूर्व प्रधानमन्त्री एवम् संविधान पिता स्वर्गीय सुशील कोइरालाको स्मृतिमा भवन निर्माण गरिएको हो ।
‘सुशील कोइराला स्मृति भवन’ नाम दिइएको उक्त भवन तीन तल्लाको हुनेछ । तीन तल्ला निर्माणका लागि रु. ६० लाख खर्च हुनेछ । प्रारम्भमा पहिलो चरणमा एक तला भवन निर्माण हुनेछ । पहिलो तल्लाका लागि करिब रु. २५ लाख रकम विनियोजन गरिएको पार्टी वडा उपसभापति राजाराम सुवेदीले जानकारी दिए । पहिलो तल्लामा सभापति कोठा एक, कार्यालय सचिव कोठा एक, बैठक कक्ष एक वटा रहनेछ ।
भवन निर्माणका लागि पार्टीका क्रियाशील सदस्य सोही वडा निवासी रामकुमार बर्माले झण्डै रु. ४० लाख मूल्य बराबरको साढे आठ धुर जग्गा दान दिएका छन् । उपसभापति सुवेदीका अनुसार भवन निर्माणका लागि पार्टी वडा सभापति जगदिश कुर्मीको संयोजकत्वमा निर्माण समिति गठन गरिएको छ । निर्माण समितिमा उपसभापति सुवेदी समेत रहेका छन् । भवन निर्माणका लागि सोही वडा लगायत अन्य स्थानका पार्टी सदस्य तथा शुभचिन्तक तथा नेपाली काँग्रेसवाट जनप्रतिनिधिमा जितेकाहरुले स्वतःस्फूर्त आर्थिक तथा जिन्सी सहयोग गर्दै आएका छन् ।
सुवेदीका अनुसार भवन निर्माणका लागि राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले मोरङ्ग–गिट्टी, मख्खन धामीले रु. ५० हजार, डा. राजेश केशर खनालले रु. ११ हजार, नवराज शाहले रु. २५ हजार र नयाँराम पौडेलले रु. ११ हजार सहयोग गरेका छन् । त्यस्तै पार्टीका अन्य क्रियाशील सदस्य, साधारण सदस्य तथा शुभेच्छुकहरुबाट पनि भवन निर्माणका लागि निरन्तर सहयोग प्राप्त भइरहेको छ ।
‘भवन निर्माणका लागि एकमुष्ट ठूलो आकारको रकम अहिलेसम्म कतैबाट पाइएको छैन । निर्माण समितिका सदस्यहरुले आफ्नो जिम्मेवारीमा उधारोमा आवश्यक सामग्री खरिद गरी भवन निर्माण गरिरहेका छन्’–उपसभापति सुवेदीले भने । ठूलो आकारको रकम जुटाउन केही साता अघि निर्माण समिति सदस्य उपसभापति सुवेदीले संघीय सरकारको सहरी विकास मन्त्रालयमा भवन निर्माण सहयोगका लागि रकमसहितको प्रपोजल बुझाएका छन् । ‘मन्त्रालयबाट सहयोग गर्ने आश्वासन प्राप्त भएको छ’–सुवेदीले भने ।
संघीय सरकारका साथै प्रदेश र स्थानीय सरकारसंग पनि भवन निर्माणका लागि आर्थिक सहयोगको प्रस्ताव छिट्टै लिएर जाने बताउँदै उपसभापति सुवेदीले यसै आर्थिक वर्षभित्र तीनै तल्ला निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए । ‘तीनै तहका सरकारले हाामीलाई सहयोग गर्छन भन्ने हाम्रो अपेक्षा छ,’–उपसभापति सुवेदीको भनाई छ । सुवेदीका अनुसार २०८१ चैत १० गते एक समारोहका बीच ‘सुशील कोइराला स्मृति भवन’ निर्माणको शिलान्यास गरिएको थियो । पार्टीका प्रदेश सभापति अमरसिंह पुनले भवनको शिलान्यास गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार