Listen LIVE

सानै उमेरमा उद्यमशील बन्दै बाँकेका दुई किशोर

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१३, उदयपुरका १२ वर्षीय नितेश कुम्हार आफ्नो अद्वितीय कला र परिश्रमले समाजमा उदाहरणीय बनेका छन् । नितेश माटोबाट विभिन्न प्रकारका भाँडाकुँडा बनाउने  गर्छन् । सानै उमेरमै  उद्यमी बनेका उनी बिहान र बेलुकाको समयमा माटोसँग खेल्दै सुन्दर भाँडा बनाउने गर्छन् । मंगलप्रसाद माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत नितेशको विद्यालयपछिको अतिरिक्त समय माटोको भाँडा बनाउने काममै बित्ने गरेको छ ।

सानै उमेरमा नितेशले देखाएको कलात्मक दृष्टिकोण र माटोसँगको सम्बन्धले उनलाई अद्वितीय बनाएको छ । बाल्यकालमै यस्तो दक्षता हासिल गर्नु प्रेरणादायक छ । उनको सिपले परम्परागत कुम्हार पेसालाई आधुनिक युगसँग जोड्दै आर्थिक रूपमा पनि परिवारलाई सहयोग गरेको देखिन्छ ।

नितेश जस्तै १८ वर्षीय सुरज कुम्हार पनि माटोबाट भाँडा बनाउने कार्यमा सक्रिय छन् । सुरजले सानै उमेरदेखि यो कला सिक्दै अहिले दैनिक तीन सयवटा परम्परागत भाँडा बनाउँछन् । ‘यो पुर्ख्यौली पेशा हो, जसलाई मैले सानैमा सिकेँ, अहिले यहीँ पेसालाई व्यापारको रूप दिएका छौँ,’ सुरज बताउँछन् ।

सुरजका अनुसार, पछिल्लो समय माटोको कुज्जा (कप) मा चिया, कफी, र दही खाने प्रचलन बढ्दै जाँदा यस्तो भाँडाको माग उच्च छ । बाँकेमात्र होइन अन्य जिल्लाका व्यापारीहरू पनि यस्तो माटोका भाँडाहरूको लागि उदयपुर आउने गरेको उनी बताउँछन् ।

आफूहरूले पुर्ख्यौली कलालाई निरन्तरता मात्र नदिई  आधुनिक बजारको मागलाईसमेत बुझ्दै परम्परागत कलालाई व्यापारमा परिणत गरिरहेको उनी बताउँछन् । यसले आफूहरूको आर्थिक अवस्था सुधार्न मद्दत गर्नुको साटो परम्परागत कुम्हार पेसाको संरक्षणमा पनि महत्त्वपूर्ण योगदान दिएको उनको बुझाई छ ।

उदयपुरमा करिब १५–२० घरपरिवारले माटोको भाँडा बनाउने परम्परालाई निरन्तरता दिँदै आइरहेका छन् ।

प्रतिक्रिया