Listen LIVE

गुलरिया नगरपालिकाका मेयरको कुर्सीमा बस्ने पक्राउ

बर्दिया : जेन–जी आन्दोलनका क्रममा गुलरिया नगरपालिकाको कार्यालयमा पसेर मेयरको कुर्सीमा बसेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कुर्सीमा बसेर ‘म अबदेखि नगरप्रमुख हुँ’ भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

भदौ २४ गते नगरपालिकामा आगजनी, तोडफोड र लुटपाट भइरहेको समयमा नगरप्रमुखको कुर्सीमा बसेर सामाजिक सञ्जालमा उनले ‘मेयर हुँ’ भन्दै पोष्ट गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी चक्र डमर पालले आपराधिक प्रवेश गरी मेयरको कुर्सीमा बसेका गुलरिया नगरपालिका–६ का २६ वर्षिय इरफान मनिहारलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । मनिहार अटो चालक भएको डीएसपी पालले जनाए ।

प्रहरीले नगरपालिकामा प्रवेश गरी आगजनी, लुटपाट र तोडफोड गर्ने र सांसद संजय कुमार गौतमको घरमा आगजनी र लुटपाट गरेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ । एमाले, कांग्रेस पार्टी कार्यालय, नगरपालिका र सांसद गौतमको घरमा आगजनी र लुटपाट भएको थियो । पक्राउ परेकाविरुद्ध प्रहरीले अदालतबाट म्याद थप गरी मुद्दा दायर गरेको जनाएको छ ।

तिनीहरूविरुद्व आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसुरमा कारबाही सुरु गरिएको डीएसपी पालले बताए । उनले भने, ‘केही अभियुक्त फरार भएकाले तिनीहरूको व्यापक खोजी भइरहेको छ ।’

सामाजिक सञ्जालमा लुटपाट र आगजनीका तस्बिरहरू भाइरल भएपछि प्रहरीले तिनीहरूलाई पक्राउ गरेको स्रोतले जनाएको छ । प्रहरीले फरार अभियोगीहरूलाई आफैं प्रहरी कार्यालय आएर आत्मसमर्पण गर्न आह्वान गरेको छ । आगजनी, लुटपाट र तोडफोडमा संलग्न भए पनि आत्मसमर्पण नगरे फरार सूचीमा राखिने जनाएको छ ।

प्रतिक्रिया