Listen LIVE

श्रमको सम्मान गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड

नेपालगञ्ज : लुम्बिनी प्रदेश सभा सदस्य एवम् निवर्तमान सामाजिक विकास मन्त्री रत्न खत्रीले हामीले पढिरहेको शिक्षाले युवामा सकारात्मक चेतना, हातमा सीप र श्रमको सम्मान गर्ने संस्कारको विकास नगरेसम्म नेपालमा उद्यमशीलताको विकास नहुने बताएका छन् । 

युवा उद्यमशिलता र स्वरोजगार प्रवर्धनमा सरोकारवालाहरूको भूमिका विषयक उत्प्रेरणा कार्यक्रममा बोल्दै पूर्व मन्त्री खत्रीले पछिल्लो समयमा युवामा नकारात्मक सोचको धेरै विकास भई रहेको बताए । अहिलेको शिक्षा प्रणालीले नेपालको आर्थिक विकासलाई सम्बोधन गर्न नसक्ने बताउँदै उनले भने, ‘अहिले युवामा धैर्यताको अभाव देखिन्छ । रातारात अर्बपति बन्ने सपना देख्नु हुन्छ । त्यसले छिट्टै निराशमात्र उत्पन्न गराउँछ । आफ्नो क्षेत्रमा लगनशील र धेर्यतासाथ काम गरे सफलता हासिल गर्न सकिन्छ ।’

महिला उद्यमी सङ्घ नेपाल बाँकेले नवौं प्रदेश स्तरीय प्रदर्शनीको अवसरमा विभिन्न रचनात्मक कार्यक्रमहरूको आयोजना गरिरहेको छ । त्यस अन्तर्गत युवाहरूमा सकारात्मक भावनाको विकास गराउँदै उद्यमशीलतासँग जोडनको लागि प्रदर्शनी अवलोकन, सफल उद्यमी र सरोकारवाला निकायसँग अन्तरसंवादको कार्यक्रम गरिएको थियो । 

कार्यक्रममा बोल्ने वक्ताहरूले नेपालमा युवाहरूलाई उद्यमी बन्न सिकाउने शिक्षा प्रणाली, वातावरण, सीप, क्षमता र संस्कारको विकास गर्न जरुरी रहेको धारणा व्यक्त गरेका थिए । 

जहाँ कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्री, उद्योगपति केएल दुगड ग्रुपका पश्चिम क्षेत्रका निर्देशक प्रदीप छाजेड, अर्थविद्ध एवम् महेन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. राजेश केशर खनालले युवाहरूलाई स्वदेशमै उद्यमी बन्नका लागि प्रेरित गर्ने अनुभवहरू सुनाएका थिए । कार्यक्रमको सहजीकरण हरि सुवेदीले गरेका थिए । 

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले हरेक व्यक्तिको उद्यमी बन्ने सक्ने हुने बताउँदै त्यसलाई चिनेर काम गर्नु सक्नु पर्ने युवालाई सुझाव दिए । उनले भने, ‘प्रत्येक मानिससँग उद्यमी बन्न सक्ने क्षमता हुन्छ । तर थोरैले मात्र त्यो क्षमता थाहा पाउँछन् । चिन्न सक्छन् । उद्यमी बन्नका लागि सङ्घर्ष गरिरहेका व्यक्तिले आफनो क्षेत्रमा धेरै मिहिनेत गरेको हुन्छन् । स–सानो देखि ठुलो व्यावसायीको सफलताका आफनै कथा छन् । तर सफल व्यावसायीका सन्तानले आफना अभिभावकको व्यवसायलाई निरन्तरता दिइरहेको छैनन् । यो दुःखद कुरा हो ।’

नोकरी भनेको दास मानसिकता भएको अर्थविद्ध एवम् महेन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. राजेश केशर खनालले बताए । उनले भने, ‘हाम्रो शिक्षाले हामीलाई दास बन्न सिकायो । हाम्रो शिक्षाले पेसा, व्यवसायलाई उद्यमसँग जोड्न सकेन । हामीले दास मानसिकता भएको मानिस उत्पादन गर्याैं । उद्योगमा काम लाग्ने जनशक्ति नै उत्पादन भएका छैनन् ।’ 

विदेशमा गएका युवाहरुले नेपाल र विश्वमै काम नलाग्ने विषय अध्ययन् गरेर आफनो  ऊर्जाशील समय खेर फालिरहेको उनले बताए । 

उद्योगपति केएल दुगड ग्रुपका पश्चिम क्षेत्रका निर्देशक प्रदिप छाजेडले व्यवसाय गर्दा हरेक किसिमका समस्या र चुनौती आउने बताउँदैं बाधा अवरोधलाई पन्छाउँदै जान सक्ने व्यक्ति सफल उद्यमी बन्न सक्ने धारणा राखे । उनले भने, ‘कुनै पनि काम म गर्न सक्छु भन्ने विश्वास सहित काम गरे सफल भइन्छ । मैले काम गर्दा धेरै बाधा र अवरोधहरू आए । त्यसलाई सामना गर्दै अगाडि बढेँ । यस्ता समस्या हरेक चरणमा आउँछन् । त्यसको समाधान खोज्नु पर्छ । आफ्नो उत्पादनलाई कसरी गुणस्तरीय बनाउने भन्नेमा सधै तत्लीन रहनु पर्छ ।’

महिला उद्यमी सङ्घ नेपाल बाँके अध्यक्ष साबित्रा पोखरेल बस्नेतले उद्यम, व्यवसाय गर्नका लागि सानो पुँजीबाट सुरुआत गर्न सकिने बताइन् । उनले भनिन, ‘धैर्यता सबैभन्दा महत्त्वपूर्ण कुरा हो । व्यवसाय धेरै पुँजीबाट पनि गर्न सकिन्छ । त्यसलाई धेर्यता र मिहिनेतका साथ अगाडी बढाउन सके सफलता हासिल गर्न सकिन्छ ।’ खेर गैरहेको कृषि क्षेत्रबाट नेपालले धेरै फाइदा लिन सक्ने अध्यक्ष पोखरेलले बताइन् । 

महिलाहरूको उत्पादन गरेको वस्तु तथा उत्पादनहरूको बजारीकरण र प्रवर्धन गर्नका लागि महिला उद्यमी सङ्घ नेपाल बाँकेले हरेक वर्ष प्रदर्शनीको आयोजना गर्ने गरेको छ । प्रदर्शनीमा लुम्बिनी, कर्णाली, सुदुरपश्चिमका महिलाहरूले उत्पादन गरेका वस्तुहरूको बिक्रीका लागि राखिएका छन् । प्रदर्शनीका क्रममा हरेक दिन आयोजकले फरक–फरक कार्यक्रमको आयोजना गर्दै आएको छ । जस अन्तर्गत शुक्रबार महिला उद्यमीहरूको अनुभव आदान–प्रदान तथा सम्मान कार्यक्रम आयोजना गरिने नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी २०८१ को संयोजक एवम् प्रथम उपाध्यक्ष रेवती सिंहले बताइन् । 

नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी फागनु १० गते सम्म नेपालगन्ज उप–महानगरपालिका २ स्थित बागेश्वरी मन्दिर परिसरको चिल्ड्रेन पार्कमा आयोजना भई रहेको छ । 

गाउँ तथा सहरमा भएका महिलाहरूलाई आफनो सिप, क्षमता र स्थानीय वस्तुको प्रयोग गर्दै उद्यमशील बनाउने लक्ष्यसहित प्रदर्शनीको सुरुवात गरिएको हो । हरेक वर्ष प्रदर्शनीले महिलाहरूले उत्पादन गरेको वस्तु तथा उत्पादनहरूको प्रवर्धन र बजारीकरणका लागि अवसर सृजना गर्ने गरेको छ । प्रदर्शनी अवलोकन गर्न आउने महिलाहरूलाई पनि उद्यमी बन्न प्रदर्शनीले अभिप्रेरित गर्ने गरेको छ । 

नेपालगञ्ज उप–महानगरपालिकाको सहकार्यमा हुन लागेको प्रदर्शनीको नवौं संस्करणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, प्युठान, रोल्पा, पुर्वी रुकुम, सल्यान लगायतका जिल्लाबाट आएका महिला उद्यमीहरूले आफनो उत्पादन प्रदर्शनीमा राखेको प्रदर्शनी संयोजक सिंहले बताइन् । 

नेपालगञ्ज उप–महानगरपालिकाको सहकार्यमा भई रहेको नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको मुख्य प्रायोजकको रूपमा केएल दुगड रहेको छ भने घरेलु तथा साना उद्योग विभाग बाँकेले सहयोग गरेको छ ।

प्रतिक्रिया