Listen LIVE

उच्च अदालत नेपालगञ्ज इजलासमा न्यायाधीश अभाव

नेपालगञ्ज : गत साउन ३० गते बसेको न्याय परिषद्को बैठकले देशभरका दुई सय १० जना न्यायाधीशको सरुवा गर्दा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका पाँच जना न्यायाधीशको एकैसाथ सरुवा भए पनि साढे एक महिना बितीसक्दासमेत न्यायाधीशहरू हाजिर नभएकाले अदालती काम प्रभावित बनेको छ । 

उच्च अदालत नेपालगञ्जमा ६ जना न्यायाधीशको दरबन्दी भए पनि हलसम्म ५ जनाले काम गर्दै आएका थिए । यता अदालत स्रोतका अनुसार दरबन्दीअनुसार ६ जना न्यायाधीशहरू उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा आउने निर्णय भएको महिनौँ भएको छ । तर हलसम्म एक जना न्यायाधीशबाहेक पाँच जना हाजिर भएका छैनन् ।

अदालतका रजिस्ट्रार सपना अधिकारीले न्यायाधीश मदन पोखरेल आइपुग्नु भएको छ भने न्यायाधीश शकुन्तला घिमिरे आज आउने जानकारी प्राप्त भएको बताए । उनले भने, बाँकी न्यायाधीशहरू कहिलेसम्म आउँछन् कुनै जानकारी छैन ।’ नेपालगञ्ज इजलासको वरिष्ठतम न्यायाधीशको रूपमा रहने न्यायाधीश बामदेव ज्ञवालीसमेत नआइदिँदा काम प्रभावित हुँदै गएको अदालतले जनाएको छ ।

न्यायाधीश ज्ञवालीले उच्च अदालत जनकपुर राजविराज अदालतमा रहँदा गरेका फैसला र आदेशहरू लेख्ने काम अझै नसकिएकोले आउन समय लाग्ने बताइएको छ । 

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा सरुवा भएका न्यायाधीशहरूमा उच्च अदालत जनकपुर राजविराज इजलासबाट बामदेव ज्ञवाली, उच्च अदालत पाटनबाट मुनेन्द्रप्रसाद अवस्थी, उच्च अदालत सुर्खेतबाट मदन पोखरेल रहेका छन् । यसैगरी उच्च अदालत पाटन हेटौँडा इजलासबाट शकुन्तला घिमिरे र उच्च अदालत जनकपुर राजविराज इजलासबाट कोशलचन्द्र सुवेदी पनि नेपालगञ्ज सरुवा भएका थिए ।

यसैगरी नेपालगञ्जबाट सरुवा भई न्यायाधीश चन्द्रबहादुर सारु उच्च अदालत पाटन गएका छन् भने सुभाष पौडेल उच्च अदालत जनकपुर राजविराज, पुनमसिंह चन्द उच्च अदालत दिपायल, गोविन्द जोशी उच्च अदालत दिपायल महेन्द्रनगर र वसन्तराज पौडेल उच्च अदालत सुर्खेत जुम्ला सरुवा भएर गएपछि उच्च अदालत नेपालगञ्जको काम प्रभावित बनेको हो ।

प्रतिक्रिया