Listen LIVE

पूर्वमन्त्री सहितको टोलीद्धारा राजापुरमा परियोजनाको अनुगमन

नेपालगञ्ज : लुम्बिनी प्रदेशका पूर्व सहरी विकास मन्त्री कृष्णा केसी नमुना सहितको बाँके युनेस्को क्लबको अनुगमन टोलीले बर्दियामा सञ्चालित ग्रीन इकोनोमि परियोजनाको स्थलगत अनुगमन गरेको छ । 

प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा क्लबले राजापुर नगरपालिकामा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गतको बाँस हस्तकला तालिमको संयुक्त रूपमा अवलोकन अनुगमन गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताए । 

उनले अनुगमनका क्रममा सहभागिहरुले तालिममा सिकेका कुराहरुको जानकारी लिनुका साथै उनिहरुको प्रयास र तालिमको अवस्थाको बारेमा पनि बिस्तृत जानकारी लिईएको बताए । 

अनुगमनको क्रममा लुम्बिनी प्रदेशका पूर्व सहरी विकास मन्त्री नमुनाले युवतीहरूकालागि रोजगारी सिर्जना गर्न उनिहरुलाई यस्तो अवसर प्रदान गर्ने बाँके युनेस्को र प्लान इन्टरनेशनल नेपालको प्रयासको सराहना गरिन् ।

उनले यस्ता सिपमूलक र रोजगारी सिर्जना गर्ने तालिमहरु ग्रामिण क्षेत्रमा बढी भन्दा बढी हुनुपर्ने जनाउँदै त्यसका लागि प्रदेस सरकारलाई आफुले पनि अनुरोध गर्ने बताइन् । 

बाँस हस्तकला तालिममा सहभागि १४ जना युवतीहरूले कुर्सी, टेबल, बस्ने स्टुल, बच्चाको झुला र पूजा गर्ने टोकरी जस्ता विभिन्न बाँसका वस्तुहरू बनाउँदै सो तालिम लिइरहेका छन् । तालिम समापन भएपछि उनीहरूले गरेको उत्पादनलाई बिक्रीको लागि बजारसँग जोडिने कार्य गरिने बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताए । 

सो तालिमको उद्देश्य बालविवाह, शोषण, हिंसा, उत्पीडन र बेचबिखनबाट मुक्त समाजमा सम्मानजनक जीवन बिताउन युवतिहरुलाई आत्मनिर्भर र आर्थिक रूपमा सक्षम बन्न रोजगारी सिर्जना गर्नु रहेको अध्यक्ष तुलाधरले बताए । 

उक्त तालिमको प्रशिक्षकमा विकास चौधरी रहेको क्लबले जनाएको छ ।

प्रतिक्रिया