Listen LIVE

मानव बेचबिखनविरुद्ध रणनीतिक योजना तयार गर्दै मधुवन नगरपालिका

नेपालगञ्ज : बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मधुबन नगरपालिकाको समन्वयमा मानव बेचबिखन विरुद्ध रणनीतिक योजना कार्यशाला सम्पन्न गरेको छ ।

“सुरक्षा परियोजना” अन्तर्गत सो कार्यशाला आयोजना गरिएको क्लबले जनाएको छ । 

कार्यक्रममा मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाट, वडा अध्यक्षहरू मेकबहादुर गुरुङ, राजेन्द्र हमाल र हर्कबहादुर बस्नेत लगायत महिला तथा बालबालिका शाखा, स्वास्थ्य इकाइ तथा अन्य स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यशालाको सहजीकरण केशवराज कोइरालाले गरे भने सञ्चालन परियोजना संयोजक ईश्वर बिकेले गरेका थिए । बाँके युनेस्को क्लबकी फील्ड सुपरभाइजर सबित्रा भाटले कार्यक्रममा महत्वपूर्ण प्राविधिक तथा व्यवस्थापकीय सहयोग पुर्याएकी थिइन् ।

कार्यशालाले सहभागीहरूलाई चिन्तन, छलफल र संयुक्त योजना निर्माणका लागि प्रभावकारी वातावरण प्रदान गरेको थियो । त्यसको मुख्य उद्देश्य मधुबन क्षेत्रमा मानव बेचबिखन रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहबीच समन्वय सुदृढ गर्नु, प्रभावकारी रणनीतिक योजना निर्माण गर्नु र समुदायस्तरमा सुरक्षा तथा संरक्षण प्रणालीलाई मजबुत बनाउनु रहेको थियो । 

कार्यशालाको निष्कर्षमा सहभागीहरूले व्यावहारिक कार्ययोजना तयार गरेको, हस्तक्षेपका प्राथमिकता क्षेत्रहरू पहिचान गरेकोे र मानव बेचबिखन विरुद्ध एकीकृत तथा निरन्तर प्रयास गर्ने साझा प्रतिवद्धता पनि व्यक्त गरेको जनाईएको छ । 

आयोजकका अनुसार, यो कार्यशालाले मधुबनमा सुरक्षित, सचेत र दिगो रूपमा सक्षम समुदाय निर्माणतर्फ महत्वपूर्ण कदमको रूपमा काम गरेको छ ।

प्रतिक्रिया