नेपालगञ्ज : सुर्खेतमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा भाइको मृत्यु भएको छ भने दाइ गम्भीर घाइते भएका छन्। दसैँ मनाउन अछाम जाँदै गरेका दाजुभाइ सवार मोटरसाइकलाई ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
रत्न राजमार्ग अन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिकामा दुर्घटना भएको हो । छिन्चु–धुलियाविट सडक खण्डको पाडुलेमा ट्रकले मोटरसाइकललाई ठक्करदिँदा बाँकेको कोहलपुर नगरपालिका–२ प्रेमनगर घर भएका अन्दाजी १८ वर्षीय ऋतिक शाहीको मृत्यु भएको हो । उनले चलाएको लुम्बिनी प्रदेश ०३–००१ प ३६३१ नम्बरको मोटरसाइकललाई ना ५ ख ५६०८ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार ऋतिकको उपचारको क्रममा प्रादेशिक अस्पताल कालागाउँमा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडी सवार अछामको पञ्चदेवल नगरपालिका–४ का १९ वर्षीय दमन शाही गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
दमन र ऋतिक काका र ठूला बुवाका छोराहरू हुन् । नातामा ऋतिक भाइ हुन् भने दमन दाइ हुन्। पुर्खेउली घर अछाम भए पनि उनीहरूको घर बाँकेको कोहलपुरमा पनि छ ।
घाइते दमनका बुबा अमर शाहीले दुई भाई (ऋतिक र दमन) दसैँका लागि पुर्खेउली घर अछाम आउँदै गर्दा उर्घटनामा परेको बुलेटन्युजलाई जानकारी दिए। अमर शाही शिक्षक पेसामा कार्यरत छन् । उनी गाउँकै एक विद्यालयमा पढाउँछन्।
अमरले दसैँको समयमा सबै परिवार अछामको घरमा जम्मा भएर चाडपर्व मनाउने गरेको बताए। सोही अनुसार अमरका कोहलपुरमा बसेका छोराहरुलाई मोटरसाइकलमा गाउँ फर्किदै थिए ।
घाइते दमनलाई प्रदेश अस्पताल कालागाउँमा सामान्य उपचारपछि थप उपचारका लागि भारतको लखनउ रेफर गरिएको छ । उनको दुईवटै खुट्टा, टाउँको र हातमा गम्भीर चोट लागेको उनका बुवा अमरले जानकारी दिए ।
प्रहरीले मोटरसाइकलाई ठक्कर दिने ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार