प्युठान : जिल्लामा सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गर्न थालिएको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानले अभियानमार्फत कुकुरको बन्ध्याकरण गर्न थालेको हो ।
“अवरोध हटाऔँ, रेबिज उन्मुलन गरौँ” मूल नारासाथ कात्तिक ९ गते देखि १५ गतेसम्म सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गर्नेगरी अभियान सञ्चालन गरेको कार्यालय प्रमुख उमेशचन्द्र श्रेष्ठले जानकारी दिए ।
सामुदायिक कुकुरको सङ्ख्यामा कमी ल्याउन र रेबिज रोगको नियन्त्रणका लागि कुकुरको बन्ध्याकरण कार्यक्रम सञ्चालन गरेको कार्यालय प्रमुख श्रेष्ठले बताए । सामुदायिक तथा घरपालुवा कुकुरका कारण समस्या बढेपछि जिल्लामा बन्ध्याकरण गर्न थालिएको श्रेष्ठको भनाइ छ ।
कार्यालयमा विभिन्न ठाउँबाट ल्याइएका कुकुरको बन्ध्याकरण गरिरहेको कार्यालयका पशु विकास अधिकृत डाक्टर गणेश पुनले जानकारी दिए । जिल्लाका विभिन्न ठाउँबाट सामुदायिक तथा घरपालुवा कुकुर ल्याएर कार्यालयमै बन्ध्याकरण गर्ने उनले बताए । बन्ध्याकरण, उपचारसँगै कुकुरलाई रेबिजविरुद्ध खोप पनि लगाइने डा. पुनले बताए ।
कार्यालयले यसअघि जेठ २० र २१ गते पशु सेवा शाखा बिजुवारमा प्युठान नगरपालिकाको समन्वय र पायोनिएर एनिमल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. बुटवलको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेर ७५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको थियो । जसले जिल्लामा सामुदायिक कुकुरको व्यवस्थापनमा सहयोग पुगेको कार्यालयले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार