Listen LIVE

बर्दियाका शिक्षकहरुलाई आत्मसुरक्षा सम्बन्धि प्रशिक्षक प्रशिक्षण

बर्दिया : बाँके युनेस्को क्लबले बर्दियाको राजापुर र मधुवन नगरपालिकाका शिक्षकहरुका लागि आत्मसुरक्षा सम्बन्धि प्रशिक्षक प्रशिक्षण सञ्चालन गरेको छ । 

क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियामा कार्यान्वयन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत शिक्षकहरुका लागि सो पाँच दिने प्रशिक्षक प्रशिक्षणको आयोजना गरेको हो । 

बिशेषगरि विद्यालयका शिक्षकहरूलाई आत्मसुरक्षा प्याकेजमा पाँच दिने प्रशिक्षक तालिम दिनका लागि आयोजना गरिएको सो प्रशिक्षणमा बेचबिखन सम्बन्धी विषयहरू समावेश गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताए ।  

उनले तालिमको मुख्य उद्देश्य र लक्ष्य शिक्षकहरूको क्षमता, ज्ञान र सीपमा अभिवृद्धि गर्नु रहेको जनाउँदै तालिम लिएर प्रशिक्षक बनेका शिक्षकहरुले विद्यालयका विद्यार्थीहरूलाई आत्मसुरक्षा सम्बन्धि प्याकेज सहज रुपमा दिन सक्ने बताए ।  

बर्दियाको मधुवन र राजापुर नगरपालिकाका १० वटा विद्यालयका २७ जना शिक्षकहरू सो प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी भइरहेका छन् भने तालिममा पाँच दिनसम्म विभिन्न सत्रहरुमार्फत आत्मसुरक्षा र बेचविखन रोकथाम सम्बन्धि जानकारी प्रदान गरिने छ । 

प्लान इन्टरनेशनल नेपालकी संरक्षण विशेषज्ञ सबिना रावत, बाँके युनेस्को क्लबका परियोजना संयोजक महेश नेपाली, कार्यक्रम अधिकृत ईश्वर बीक, फिल्ड सुपरभाइजर साबित्रा भट्टले संयुक्त रूपमा तालिमलाई सहजीकरण गरिरहेका छन् । 

प्रशिक्षणमा प्राथमिक स्रोतको रूपमा स्टिक एण्ड स्टोन्स तालिम पुस्तिका प्रयोग गरिँदैछ । राजापुर र मधुवन नगरपालिका भित्रका छनोट गरिएका विद्यालयहरूका कुल २७ जना सहभागीहरूले आफुलाई प्रशिक्षक बनाउन सो तालिम लिईरहेका छन् ।

प्रतिक्रिया