Listen LIVE

बर्दियामा भूमि अधिकार सुनिश्चित् गर्न माग

बर्दिया : बर्दियाका भूमिहीन सुकुमवासीले भूमि अधिकार सुनिश्चित् माग गरेका छन् । भूमि ऐन, २०७६ लागु गरी वनक्षेत्र वा मध्यवर्ती क्षेत्रभित्र १० वर्षभन्दा अगाडिदेखि जोतभोग गरिरहेका भूमिहीन सुकुमवासीलाई जोतभोगका आधारमा जग्गा दिनुपर्ने माग उनीहरूले राखेका छन् । 

बर्दियाको गुलरियामा ¥यालीसहित खबरदारी कार्यक्रमको आयोजना गरी भूमिहीनले सो माग गरेका हुन् । भूमि अधिकार मञ्चले आयोजना गरेको खबरदारी कार्यक्रममा बर्दिया जिल्लाका विभिन्न स्थानबाट भूमिहीन सुकुमवासी सहभागी भएका थिए । 

भूमि समस्या समाधान आयोगको काम पारदर्शी, न्यायसङ्गत र समुदायमैत्री बनाउनुपर्ने माग गर्दै भूमिहीनले जिल्ला प्रशासन कार्यालय बर्दियामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । 

उनीहरूले भूमिहीन, सुकुमवासी, मोही, मुक्त कमैया, जोताहा किसान, बाढी तथा आरक्षपीडित सबै नागरिकलाई सुरक्षित आवास र खेतीयोग्य जमिनको सुनिश्चित गर्नुपर्ने, १० वर्षभन्दा बढी बसोबास गरेका भूमिहीनलाई सो ठाउँमा जग्गा दिनुपर्ने र जग्गा नापजाँच गर्न रोकिएको स्थानमा पुनः सुचारु गर्नुपर्ने माग गरेका छन् । 

कृष्णसार संरक्षण क्षेत्रअन्तर्गत बर्षौंदेखि बसोबास गर्दै आएका भूमिहीन सुकुमवासीको शीघ्र व्यवस्थापन गर्नुपर्नेलगायतका माग उनीहरूले राखेका छन् । लामो समयदेखि बसोबास गर्दै आएको ठाउँमा भूमि समस्या समाधान आयोगले जग्गा नापजाँच गर्दा डिभिजन वन, बर्दिया राष्ट्रिय निकुञ्ज र कृष्णसार संरक्षण क्षेत्रले रोकेको भूमि अधिकार मञ्च बर्दियाका केशबहादुर विकले बताए । 

सरकारले पछिल्लो पटक गर्ने भनेको भूमि ऐन संशोधन समयमा नहुँदा बर्दियाका अधिकांश भूमिहीन परिवार जोतभोगको जग्गा पाउनबाट वञ्चित हुनु परेको उनले बताए ।  

पछिल्लो समयमा भूमि समस्या समाधान आयोग बर्दियाले सुकुमवासी फाँटमा जग्गा नापजाँच गर्दा मध्यवर्ती क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जले रोकेको छ भने वनक्षेत्रमा डिभिजन वन कार्यालयले रोकेको छ । कृष्णसार संरक्षण क्षेत्रभित्र ५३ वर्षदेखि बसोबास गरेका भूमिहीन सुकुमवासी जग्गा नापजाँच गर्नसमेत संरक्षण क्षेत्रले रोकिराखेको छ ।

प्रतिक्रिया