नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका खल्ला झगडिया–७ स्थित राप्ती नदीमा हालै मात्र निर्माण गरिएको आपतकालीन तटबन्धले राप्तीको बाढीलाई रोक्न सफल भएको छ । दुई वर्ष पहिलेको ठुलो बाढीबाट भत्किएको पक्की तटबन्धको निर्माण नहुँदा बाढीको उच्च जोखिममा परेका राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका एक दर्जन गाउँबस्ती जोगाउन केही दिन पहिले मात्र त्यहाँ जनताको तटबन्ध कार्यक्रम लमहीले आपात्कालीन तटबन्ध निर्माण गरेको थियो ।
राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारूले सो तटबन्ध निर्माणको काम सकिएलगत्तै गत तीन दिनदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा मङ्गलबार बिहान ठुलो बाढी आए पनि अस्थायी तटबन्धले सो बाढीलाई रोक्न सफल हुँदा १२ वटा गाउँ जोगिएको बताए । तटबन्ध गरिएको ठाउँमा स्थानीय बासिन्दाका साथ मङ्गलबार बिहानै पुगेका वडाध्यक्ष थारूले राप्तीमा ठुलो बाढी आए पनि पानीको बहाब तटबन्धमा ठोक्किएर पुरानै दिशातर्फ फर्किंदा राप्तीसोनारी र नरैनापुरका एक दर्जन गाउँ जोगिएको बताए ।
तटबन्धकै कारण नदीले धार फेरेको जनाउँदै वडाध्यक्ष थारूले थप केही ठाउँमा जोखिम देखिएको हुँदा जनताको तटबन्ध कार्यक्रम लमहीका प्राविधिक पनि बिहानै त्यहाँ पुगेर थप ठाउँमा समेत सिमेन्टको पर्कोपाइन पोल राख्न थालेको बताए । राप्तीसोनारी खल्ला झगडिया–७ का स्थानीय बासिन्दा अरुण यादवले अस्थायी तटबन्ध नभएको भए यसै बाढीमा ठुलो डुबान र कटान हुने जोखिम रहेको भने । उनले सही समयमा तटबन्धको काम पूरा गरिएकोले आफू जोगिएको बताए ।
उता जनताको तटबन्ध कार्यक्रम लमहीका आयोजना प्रमुख डा.नारायण सुवेदीले छोटो समयमा हतार हतार दिनरात खटिएर काम गरी तटबन्ध निर्माण गरेकोमा कटान रोक्न सफल भएकोले खुसी लागेको बताए । उनले आयोजनाका प्राविधिक सोही ठाउँमा खटिएको जनाउँदै अन्य केही थप स्थानमा पनि कटान रोक्न सिमेन्टको पोल जोडेर तयार पारिएको, आरसिसी पर्कोपाइन राख्ने काम भइरहेको बताए ।
आयोजनाले अस्थायी तटबन्ध निर्माण गर्दा सिमेन्टको पोल, बाँस, बालुवा भरिएका प्लास्टिकका बोरा तथा जाली प्रयोग गरी नयाँ प्रविधिको माध्यमबाट ४५० मिटर लामो आपात्कालीन तटबन्ध बनाएको थियो । नदी बगिरहेको क्षेत्रमा तीन मिटर लामो १०–१० सेन्टिमिटर मोटाइ भएका सिमेन्टका पोल जोडेर आरसिसी पर्कोपाइन तयार पारेर त्यहाँ राखिएको थियो ।
खल्ला झगडिया क्षेत्रमा ४०० मिटर लामो पक्की तटबन्ध मङ्सिर २०८३ सम्म सम्पन्न गर्ने गरी साई माँ दुर्गा भिन्सी जेभीले छ करोड पाँच लाख रुपियाँको लागतमा ठेक्का लिएर काम सुरु गरेको छ । सोही ठेक्का अन्तर्गत आपत्कालीन सो तटबन्ध निर्माण गरिएको र वर्षा सकिएलगत्तै पक्की तटबन्ध निर्माण सुरु गरिने जनताको तटबन्ध कार्यक्रम लमहीले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार