नेपालगञ्ज : नेपालगञ्जलगायत बाँके जिल्लाका ग्रामीण क्षेत्रहरुमा केही दिनयता चोरको त्रासले स्थानीय बासिन्दा हैरान छन् । ठाउँठाउँमा चोरी हुनुका साथै स्थानीयद्वारा चोरहरु पक्राउ गरिएपछि अहिले नेपालगञ्ज उपमहानगरका अधिकांश वडा, टोल र सो वरिपरिका ग्रामीण क्षेत्रमा स्थानीय रातभरी जाग्राम बस्नुपरेको छ ।
चोरहरुको विगविगि सहरमा बढेकाले आफ्नो घर र टोलको सुरक्षाका लागि स्थानीय रातभरी पालैपालो जाग्राम बस्नुपरेको नेपालगञ्ज ६ का वडाध्यक्ष समिर प्रतापसिंहले बताए । उनले चोरहरुले खुलारुपमा चोरी गर्ने चुनौती दिँदै विभिन्न ठाउँमा पर्चा पम्पलेट टाँसेपछि सर्वसाधारण झनै त्रसित बनेको जनाउँदै सुरक्षाका लागि रातभरी नसुतेको बताए ।
केहदिन अघिमात्रै वडा नम्बर ६ मा स्थानीयले केही चोरहरुलाई समातेर प्रहरीलाई बुझाएका थिए । सोही प्रकारले नेपालगञ्ज वडा नम्बर ११, ३, ४, ५, ८, २ र १ का स्थानीयले पनि चोरको त्रासका कारण रातभर नसुतेर सुरक्षा दिने गरेको पाइएको छ । वडा नम्बर ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यपले चोरको त्रासले वडावासी निकै डराएको जनाए ।
उनले सुरक्षा व्यवस्था कडा पार्न तथा चोरहरुलाई पक्राउ गर्न प्रहरी प्रशासनसँग आग्रह गरे । सोही प्रकारले केहीदिन यतामात्रै नेपालगञ्ज उपमहानगरपालिका २१ का ६ घरमा चोरी भइसकेको स्थानीय सलाउद्दिन शेषले बताए । उनले वडामा चोरी बढेपछि अहिले युवाहरुले समूह बनाएर रातभरी ड्युटी दिने गरेको बताए ।
नेपालगञ्ज ४ का केही स्थानमा अज्ञात व्यक्तिले हिन्दी भाषामा ‘कहिलेसम्म सुत्दैनौ, सुतेपनि नसुते पनि चोरी त गरेरै छाड्छौ, रोक्न सक्छौ भने रोक’ भन्ने लेखेर टाँस गरेका छन् । सोही प्रकारका व्यहोरो लेखिएका पर्चाहरु अन्य ठाउँहरुमा पनि लगाएको स्थानीयले जनाएका छन् । यसरी ठाडो च्यालेन्ज गरेर चोरी गर्ने भनि धम्काएपछि स्थानीयमा त्रास बढेको नागरिक सरोकार समाज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए ।
उनले यस्ता पर्चा पम्पलेट टाँस्नेहरुलाई पक्राउ गरेर सार्वजनिक गर्न माग गरेका छन् । सोही प्रकारले नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले चोरको त्रासले नेपालगञ्जका अधिकांश व्यवसायी पनि त्रसित रहेको जनाउँदै प्रहरीले सुरक्षाको अनुभूति दिनेगरी कदम चाल्न आग्रह गरे ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्तीमगरले नगरमा चोरीको छिटपुट घटना भएको जनाउँदै हल्ला र अफवाह धेरै फैलिएको बताए । उनले हल्लाको पछि नलाग्न अनुरोध गर्दै चोरी नियन्त्रण गर्न चोरी हुने सम्भावित क्षेत्रको पहिचान गरी प्रहरी परिचालन गरिएको जनाउँदै रातिको समयमा थप सुरक्षाकर्मी परिचालन गरिएको पनि बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार