नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका संरचनामाथि डोजर चलाएको छ ।
वडा नम्बर २० राँझामा फुटपाथ क्लियर गर्ने क्रममा त्यसमाथि बनाइएका अवैध संरचना हटाउन डोजर चलाइएको हो । नेपाल आयल निगम चोकदेखि सरोजिनी मेमोरियल पोलिक्लिनिक चोकसम्मको सडकको दुबैतर्फ डोजर चलाइएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।
फुटपाथ निर्माण कार्यको नगर प्रमुख प्रशान्त विष्टले उदघाटन गरेका थिए । मुख्य सडकदेखि दुबैतर्फ दुई दुई मिटर चौडाइको फुटपाथ बनाउन लागिएको हो । दुवैतर्फको लम्बाई २६०० मिटर छ । नगर प्रमुख विष्टले देश विदेशका पर्यटकहरू नेपालगञ्ज विमानस्थल भएर ओहोरदोहोर गर्ने महत्वपूर्ण सडक भएकोले यसको सौन्दर्यीकरण र व्यवस्थापन थालिएको बताए । उनले विमानस्थलबाट मानिसहरू आउँदा पहिलो दृष्टि नै यसमा पर्ने भएकोले राम्रो सन्देश प्रवाह गर्न आवश्यक रहेको बताए । दोस्रो चरणमा राँझा चोकसम्म पनि विस्तार गर्ने योजना रहेको नगर प्रमुख विष्टले बताउनुभयो । त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बम, वडा नम्बर २० का वडा अध्यक्ष कौशल कुमार धोवी लगायतको उपस्थिति थियो ।
२ करोड १५ लाखमा ठेक्का खोलेकोमा गाउँले कन्स्ट्रक्सन–पञ्चदेवी निर्माण सेवा र ए एण्ड ए कन्स्ट्रक्सन जेभीले २ करोड ७ लाख ९९ हजार २ सय ११ रुपैयाँ ३३ पैसामा ठेक्का सम्झौता गरी फुटपाथ निर्माण थालेको नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर चन्दन दासले जानकारी दिए । सम्झौता अवधि असार १५ गतेसम्म भए पनि निर्माण कम्पनीले २० देखि २५ दिनभित्र काम सक्ने दाबी गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार