Listen LIVE

हराउँदै परम्परागत हाते जनै र डोरो बनाउने प्रचलन

बर्दिया : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमामा प्रयोग गरिने जनै र डोरोको प्रचलन गाउँघरमा आजभोलि भने कम हुँदै गएको छ । 

पहाडी जिल्लामा पनि जनै पूर्णिमामा डोरो बाँध्ने परम्परा छ भने तराईका जिल्लाहरूमा जनै पूर्णिमासँगै राखी बाँध्ने परम्परा रहँदै आएको छ । वैद्यिक गुरु परम्परा अनुसार जनैलाई ब्रम्ह्रासुत्र अथवा ज्ञानको धागो समेत भनिन्छ । पहिलापहिला घरमानै डोरो र जनै बनाएर श्रावण सुक्ल पूर्णिमाको दिन त्यसलाई पुजेर लगाइने गरेको भएपनि आजभोलि बजारमा आयातित जनै र डोरोको प्रयोग बढ्दै जाँदा घरमा बनाउने जनै र डोरोको प्रचलन भने हराउँदै गएको छ ।

नेपालमा पछिल्लो समय भारतबाट आयात गरिने जनै र डोरोसहित राखिको प्रचलन बढ्दै गएको देखिन्छ । बजारमा जताततै खरिद गर्न पाइन थालेपछि अहिले गाउँघरमा निर्माण गरिने जनै र डोरोको प्रचलन कम हुँदै गएको हो । नेपालमानै उत्पादन हुने धागो र कपासबाट बनाउने गरेको डोरो पछिल्लो समय भारतबाट बढी आयात हुने गरेको छ । आफ्ना पुर्खाहरूले जनै र डोरोमा रङ्गाउने रङ्ग नभए पछि माटोमा डुबाएर त्यसको रङ्ग निकालेर लगाउने गरेको स्थानीयको भनाइ छ । यसरी आफैँले बनाएको जनै र डोरो  वर्ष भरी प्रयोग गर्ने चलन थियो ।

गुलरिया नगरपालिका–४ प्रगति टोलका भूपेन्द्रराज ज्ञवालीले पहिलाको तुलनामा आजभोलि जनै बनाएर प्रयोग गर्ने परिपाटी अन्त्य हुँदै गएको बताए । उनले भने, “आजभोलि बजारमा भारतबाट आएको जनै पाइन्छ मानिसहरूले दुख्ख गर्न छाडे ।“ गुलरिया नगरपालिका–५ भृकुटी टोलका ध्रुव ज्ञवालीले बजारमा सजिलै पाइने भएपछि घरमा जनै बनाउने परम्परा घट्दै गएको बताए । 

गुलरिया नगरपालिका–४ कोटही मन्दिरका पुजारी प्रकाश पोखरेलले मानिसहरूलाई जनै र डोरो बनाउन समय लाग्ने भएकाले पनि मानिसहरू समयको बचत गर्न आजभोलि बजार गएर जनै र डोरो किन्ने गरेको बताए । 

सत्ययुगमा दानवद्धार लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त वहशाली दानवराज बल शाही बाँधिए त्यसैले म तिमिलाई बाँध्छु, यसैले तिमि विचलित नहोऊ भनेर डोरो बाँधेर बचाएका थिए त्यसै दिन देखि जनै पूर्णिमाको महत्त्व रहँदै आएको छ ।

प्रतिक्रिया