बर्दिया : केही समय अघिसम्म परम्परागत रूपमा पुख्र्यौली पेशा आरन व्यवसाय गरेका मधुवन नगरपालिका–३, ओरालीबजारका मधु विकले अहिले मधु आरन उद्योग सञ्चालनमा ल्याएका छन् ।
बाजे–बुवा हुँदै आफूमा हस्तान्तरण भएको सिपलाई मधुले उद्योगमा परिणत गरेका छन् । ग्राहकले घरायसी र कृषि औजारहरू मर्मतसंहार गरेको कमाइले धौ–धौ मधुको जीविका चलिरहेको थियो । त्यही पेशालाई उद्योगमा परिणत गरेपछि मधुको कमाइ होइन, जीवन फेरिएको छ ।
घरको आर्थिक अवस्था कमजोर भएकाले मधुको पढाइ एसएलसीसम्ममा रोकियो । क्याम्पसको खर्च जुटाउन नसकेर पढाइ छोड्का मधुले केही समय नेपालकै विभिन्न जिल्लामा गएर ज्याला मजदुरी गरे । घरमा आएको समयमा बुवासित घरेलु र कृषिजन्य हतियार निर्माणको काम सिके ।
नेपालमै बसेर केही गर्ने हुटहुटी भएका मधुले तीन वर्ष अगाडि मात्र ओराली बजारको पीपलको बोटमुनि आरन खोलेका थिए । ग्राहकले ल्याएका घरेलु सामानहरू मर्मत गरेर जीविकोपार्जन चलाएका मधुले ६ महिना अगाडि मधु आरन उद्योग खोलेका छन् ।
आधुनिक र कम समयमा धेरै काम गर्नसक्ने मेशिन राखेर उद्योग खोलेपछि मधुको जीवन फेरिएको छ । अहिले फलाम आँफै खरिद गरेर घरेलु हातहतियार बनाउने गरेका छन् । 'हँसिया, दराती, चुलसी, कुटो, कोदालो, खुर्पा, खुकुरी, खुडा, दाउ, छुरी र हलो बनाउने गरेको छु ।' उनले भने, 'मैले उत्पादन गरेको औजार घरायसी प्रयोजन, खेतबारीमा प्रयोजन र सामुदायिक वनले अग्निरेखा निर्माणका लागि लैजाने गरेका छन् ।'
पहिले आँफैले काम गर्ने आरनमा अहिले चार जनालाई रोजगारी दिएका छन् । 'विदेशमा भएका दाजुलाई पनि बोलाएर रोजगारी दिएको छु' उनले भने, 'उद्योगलाई अझ बढाएर थप रोजगारी सिर्जना गर्ने योजना रहेको छ ।'
पहिले बाध्यतामा शुरु गरेको आरनलाई अहिले उद्योग बनाएको उनले बताए । अहिले चार जनालाई रोजगारी दिएर पनि मासिक ८० हजार बचत हुने गरेको मधुले जानकारी दिए ।
मधुका बुवा ५५ वर्षीय शेरबहादुर विक. छोराको प्रगति देखेर दङ्ग छन् । 'पहिले आँफै घन ठोक्नु पथ्र्याे अहिले मेशिन छ ।' उनले भने, 'अहिले पहिलेको भन्दा दोब्बर काम गर्दा पनि थकाई लाग्दैन, काम पनि छिटो हुन्छ ।'
मधुलाई आरन व्यवसायीबाट उद्योगी बन्न प्रेरित सम्वर्धन परियोजनाले गरेको हो । परियोजनाले २१ जना उद्यमी छनोटगरी उद्यामशिलता विकास तथा व्यावसायिक योजनासम्बन्धी पाँच दिने तालिम दिएको थियो । उद्योग दर्ताका लागि सहजीकरण र उद्योगमा आवश्यक पर्ने मेशिनरी सामान खरिदका लागि सहजीकरण गरेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका पैरवी अधिकृत जयन जोशीले बताए । मधु आरन उद्योगमा बनेका औजारहरू मधुवन, राजापुर र ठाकुरबाबा नगरपालिकामा बिक्री हुने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार