Listen LIVE

बाँके प्रशासनको सेवा सञ्चालनमा ढिलाई

नेपालगञ्ज : जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीपछि क्षतिग्रस्त बनेको जिल्ला प्रशासन कार्यालय, बाँकेले आफ्नो नियमित सेवा सञ्चालनमा आउन अझै केही समय लाग्ने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार कार्यालयको मुख्य प्रशासनिक भवन प्रयोगयोग्य छैन भने भित्र रहेका सबै कागजात जलेर नष्ट भएका छन् । हाल अस्थायीरूपमा अर्को भवनको कोठाबाट काम शुरु गरिएको भएपनि तत्काल सबै सेवाप्रवाह सम्भव नभएको उनको भनाइ छ ।

आन्दोलनका क्रममा ध्वस्त भएका अन्य कार्यालयहरूमध्ये केहीले अस्थायीरूपमा सेवा शुरु गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले कार्यालय परिसरमै टहराबाट आंशिक सेवा दिन थालेको छ । प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले सरसफाइपछि जोगाइएका कागजात प्रयोग गरेर काम अघि बढाइएको जानकारी दिए ।

यस्तै, उच्च अदालत नेपालगञ्ज इजलास र जिल्ला अदालत बाँकेले बन्दी प्रत्यक्षीकरणलगायतका आवश्यक सेवा शुरु गरिसकेका छन् ।

यसबीच बाँके प्रहरीले सरकारी तथा निजी कार्यालयमा आगजनी गर्नेहरूलाई नियन्त्रणमा लिने काम शुरु गरेको छ । तोडफोड र लुटपाटमा संलग्नलाई कारबाही गर्न नागरिक समाजले पनि दबाब दिएको छ । प्रहरीले विध्वंसमा संलग्नलाई कुनै हालतमा नछोड्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया