बर्दिया : बर्दिया जिल्लाको राजापुर नगरपालिका–७ मा पर्ने शङ्करपुरगाउँमा एउटा अनौठो मन्दिर छ । एक सय वर्षभन्दा पुरानो पिपलको कापमा भएको दुर्लभ प्राचीन शिवमन्दिर संरक्षणको पर्खाइमा छ ।
करिब एक सय वर्षअघि त्यस स्थानमा सामान्यरूपमा शिवको मूर्ति राखेर पूजा गर्ने गरिएको त्यस स्थानमा पिपलको रुख उम्रिएको बताइन्छ । पिपलको रुखलाई नष्ट गर्न मन्दिर स्थापना गर्ने पुजारीदेखि सबैले कोसिस गरे । पिपल काटेर धेरै पल्ट फ्याँकियो भने कति पटक त्यसलाई निर्मूल पार्न तेजाबसमेत हालेर आगो लगाइयो तर पिपललाई त्यहाँबाट निर्मूल पार्न सकिएन ।
यहाँसम्म कि त्यस पिपललाई निर्मूल पार्न गोबरको गुइँठा लगाएर आगो लगाउँदासमेत पिपल निर्मूल नभएपछि अहिले त्यस मन्दिरलाई पिपल मन्दिर पनि भन्ने गरिन्छ । पटक पटक उम्रिएको पिपलको रुख नष्ट गर्न खोज्दा नभएपछि शिवको दर्शन गर्न पुगेका एक साधुले जति गरे पनि पिपल त्यस स्थानबाट निर्मूल नहुने बताउनुभएको थियो । विस्तारै पिपल ठुलो हुँदै वरिपरिबाट मन्दिरलाई छोप्यो र अहिले पिपलको बिचभागमा एउटा ढोका राखेर त्यसबाट भक्तजन जाने गरेको स्थानीयको भनाइ छ । सुरुमा मन्दिरको स्थापना मुन्नालाल यादवले गरेको जानकार बताउँछन् ।
“सुरुमा मेरो श्रीमान् मुन्नालाल यादवले शिवको मूर्ति राखेर पूजा गर्न सुरु गर्नुभयो,” यादवकी श्रीमती चुन्नीदेवीले भनिन, “श्रीमानको मृत्यु भएपछि ५५ वर्षदेखि मैले नै मन्दिरमा पूजा गर्ने गरेकी छु ।”
उनले नगरपालिकाभित्र रहेका मठमन्दिरको संरक्षण स्थानीय सरकारले गर्नुपर्ने बताइन् । चुन्नीदेवीका छोरा ओमप्रकाश यादवले मन्दिर निर्माणका लागि आफूहरूले निजी जमिन दिँदा पनि निर्माण सम्पन्न नभएको सुनाए । उक्त स्थानमा साउनमा अत्यधिक भिड हुने गरेको छ । राजापुर नगरपालिका–७, गोडिया टोलका स्थानीय सागर परियारले प्रायः सोमबारसहित विशेष पर्वका दिनमा भक्तजनको भिड लाग्ने गरेको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार