दाङ : थारु समुदायका महिलाले विशेष पर्वको रुपमा मनाउँदैआएको अस्टिम्की पर्व आउन पाँच दिन भए पनि थारु गाउँमा अहिलेदेखि अस्टिम्कीको रौनक बढ्दैगएको छ । हरेक बर्ष कृष्ण जन्माअष्टमीको दिन मनाउँदै आएको अस्टिम्की यस बर्ष साउन ३१ गते परेको छ ।
अस्टिम्की नजिकिदै गर्दा थारु गाउँमा अस्टिम्कीको चहलपहल बढेको हो । अस्टिम्कीलाई उत्साह पर्वको रुपमा मनाउन घरआँगन सरसफाइ तथा घरलिपपोट भइरहेको घोराही उपमहनगरपालिका १० जलौराकी इन्दिरा चौधरीले बताइन् । यस्तै, पात टिप्ने, दुना टपरी लगाउने, अस्टिम्कीमा चाहिने सामग्री जुटाउने तयारीमा रहेको उनले जानकारी दिइन् । अस्टिम्कीमा पूजा गर्ने पूजापाठको किनमेल, नयाँ लुगा सिलाउने लगायत तयारीमा अहिले थारु महिला जुटेको उनले बताइन् ।
उनका अनुसार थारु समुदायका महिलाहरुले दुई दिनसम्म उल्लासमय र धुमधामका साथ अष्टिम्की मनाउँदैआएका छन् । अष्टिम्की पर्वलाई थारु महिलाहरुले महान पर्वको रुपमा मनाउने गरेको उनले बताइन् । उनका अनुसार अष्टिम्की पहिलो दिन थारु महिलाहरुले दिनभर केही नखाई व्रत बस्ने गर्दछन् । अष्टिम्कीमा ‘कान्हा’ को जीवनी चित्रणमा भित्तेचित्र कोरेर धुमधामसँग टीका, फलफूल, अर्पण तथा दीप प्रज्वलन र जलले पूजा अर्चना गर्दछन् ।
अष्टिक्कीको पहिलो दिन अर्थात व्रत बसेको दिन विहानै मटाँवाको घरको बैठक कोठाको उत्तरपत्तिको भागमा लिपपोट गरी चुनाले रंगाई श्रीकृष्ण भगवानको चित्रलाई विशेष रुपमा बनाइन्छ ।
त्यसैगरी श्री कृष्णको दाँया सूर्य र बाँया भागमा चन्द्रमाको चित्र बनाइन्छ । यसैगरी दोस्रो लाईनमा पाँच भाइ पाण्डव र सात भाइ कौरबको चित्र कोरिन्छ, उहाँले भन्नुभयो, त्यसको तलको भागमा दुलाहादुलही, दुलहीलाई पठाउन जान लागेको ‘डोली’, दुलाहालाई पठाउन जानलागेको ‘ड्वाला’ माछा, गंगुता, बाघ, हात्ति, मयुर, सर्प, गाई, लगायत विभिन्न चरा, चरिंगी र जनावरको चित्र बनाइन्छ ।
सवै चित्र बनाइसकेपछि बेलुका नजिकै खोलामा गाउँभरिका महिलाहरुले स्नान गर्ने गर्दछन् । त्यसपछि विभिन्न किसिमको रंङ्गीचंङ्गी रातो, कालोचोली, सेतो गुन्यु, लंहगाँ र घाँटीभरी थरिथरिको गरगहनाले सजिएर एकै समयमा बेलुकी ५ बजेतिर गाउँभरिका महिलाहरु लामबद्ध भई बलिरहेको दियो, त्यसैमा रंङ्गीचंङ्गी फूल लिएर मटाँवाको घरमा गई पूजा गर्ने गरेको चौधरीले बताइन् ।
‘यसरी भित्तामा कोरिएको चित्रको सवैभन्दा माथिको लाइनमा रहेको पाँच चित्रमध्ये विचमा रहेका श्री कृष्ण (कान्हा) लाई टीका लगाएर अन्य चित्रमा क्रमशः सिन्दुरको टीका, कलशको जलद्वारा पूजा गर्ने गरिन्छ, उनले भनिन– पूजा गर्दा निकै रमाइलो हुन्छ, ठुलाबाट सानो क्रमशः पूजा गर्ने चलन छ, पूजासँगै सामुहिकमा अष्टिम्कीको गीत गाउने गरिन्छ ।
उनका अनुसार पूजापाठ गरिसकेपछि घरघरमा गई फलफुल र दही खाई पुनः महटावाको घरमा गई रातभिर गीत गाएर जाग्राम गर्ने गरिन्छ । यसरी विहान भइसकेपछि थारु महिलाहरुले बलिरहेका दियो ‘दीप पज्वलन’, खोलामा गई अस्राउने चलन छ । यसलाई थारु भाषामा फह्रार भन्ने गरिएको चौधरीले बताइन् ।
उनले भनिन, घरमा आइसकेपछि ५ देखि ७ थरिको तरकारी, अन्य मिठा परिकार आ–आफ्नो दाजुभाइको नाममा निकाल्ने गर्छन्, जसलाई थारु भाषामा अग्रासन भन्ने गरिन्छ । त्यही अग्रासन विवाहित महिलाहरुले आआफ्नो दाजुभाइहरुलाई अग्रासन दिन जाने चलन रहेको चौधरीले बताइन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार