नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरले इरिक्सा व्यवस्थापनमा चासो नदिएको भन्दै इरिक्सा व्यवसायीले आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरूले इरिक्सा सङ्घर्ष समिति नै निर्माण गरेर सो चेतावनी दिएका हुन् ।
इरिक्सा सङ्घर्ष समितिका अध्यक्ष रियाज अहमद शेषले इरिक्सा व्यवस्थापनका नाममा नेपालगञ्ज उपमहानगरका मेयर र उपमेयरले गरिब, निमुखा इरिक्सा व्यवसायीसँग आर्थिक लाभ लिएको आरोप लगाए ।
उनले नवीकरणका नाममा इरिक्सालाई जिल्ला प्रशासन कार्यालय प्राङ्गणमा लगेर थन्क्याएर बिचौलियामार्फत रकम असुलेको पनि आरोप लगाए । “इरिक्सा चलाएर एक छाक जोहो गर्नेसँग रकम माग्ने र नदिए डोजरले थिचेर नष्ट गर्दा सयौँको रोजीरोटीमा लात मार्ने काम उपमहानगरका मेयर र उपमेयरले गरेका छन्,” शेषले भने ।
आफ्ना माग तत्काल सम्बोधन नगरिए इरिक्साको सङ्घर्ष समितिले चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत उनले दिए ।
इरिक्सासम्बन्धी समस्या समाधानका लागि निर्माण गरिएको सङ्घर्ष समितिले केही दिनअघि आफ्ना माग नेपालगञ्ज उपमहानगर र बाँके प्रशासनमा बुझाएको थियो । गरिब तथा दैनिक परिश्रम गरेर जीविकोपार्जन गर्नेमाथि भइरहेको अन्यायविरुद्ध सङ्घर्ष समिति गठन गरिएको शेषको भनाइ छ ।
“माग बेलैमा सम्बोधन नगरिए सशक्त आन्दोलन गर्न बाध्य हुने छौँ । आन्दोलनबाट उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपालगञ्ज उपमहानगरले लिनुपर्ने छ,” शेषले भने । नेपालगञ्ज उपमहानगरले अन्य कहीँ नभएको कानुन यहाँ लादेको सङ्घर्ष समितिको आरोप छ । इरिक्सा चालकका समस्याबारे उपमहानगरपालिकाका मेयर र उपमेयरलाई बारम्बार जानकारी दिँदासमेत सुनुवाइ नगरिएको व्यवसायीको भनाइ छ ।
एक वर्षअघि उपमहानगरपालिकाले महिनौँ लगाएर अवैध भनेर नियन्त्रणमा लिएको रिक्सालाई रिक्सा धनीसँग बिचौलिया लगाएर पैसा असुलेको व्यवसायीको आरोप छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार