Listen LIVE

लुम्बिनी प्रदेश : बिपदबाट बढी प्रभावित हुने प्रक्षेपण

नेपालगञ्ज : लुम्बिनी प्रदेशमा पछिल्ला १० वर्षमा १६१८ वटा घटना भएका छन् । ती घटनामा ४५९ जनाको मृत्यु भएको छ । हरेक वर्ष मनसुन जन्य बिपदबाट हुने क्षतिको आँकडा बढ्दै गएको छ । यसबर्ष अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेश विपदबाट बढी प्रभावित हुने प्रक्षेपण गरिएपछि सतर्कता अपनाउन थालिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना २०८२ अनुसार यस वर्ष लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित हुने देखिएको हो । लुम्बिनीमा करिब १ लाख १९ हजार ८३० घरधुरीका ५ लाख २३ हजार ६५६ जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ सोही अनुसार प्रदेश तहमा सतर्कता र तयारीको काम अघि बढेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्को पूर्व तयारी र प्रतिकार्यका लागि निर्देशन दिएका छन् । लुम्बिनी प्रदेशमा बितेको १० वर्षमा मनसुनजन्य विपदमा परेर ४५९ जनाको मृत्यु भएको छ । ६१९ जना घाइते ३२ जना बेपत्ता र ८ हजार ३ सय १५ परिवार प्रभावित भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

विपदपूर्वको अवस्थाबाट नै प्रभावकारी सूचना प्रवाह सुरक्षित स्थानको पहिचान नागरिक शिक्षा तथा सचेतनामूलक अभियान सञ्चालन विपद्को बेलामा खोज तथा उद्धार कार्य प्रभावकारी बनाउनुपर्ने जोखिमयुक्त क्षेत्रमा सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालन गर्नुपर्ने तथा विपद्को राहत पुनस्र्थापना खाद्यान्न उपलब्धता शुद्ध खानेपानी र स्वास्थ्य सेवा सुनिश्चित गर्न ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।

लुम्बिनी प्रदेशलाई मनसुनजन्य विपदबाट सुरक्षित राख्न सबै पक्ष संवेदनशील, उत्तरदायी र सक्रिय हुनुपर्ने आवश्यकता प्रष्ट भएको छ । सक्रिय सहभागिता र समन्वयबिना विपद्को प्रभाव कम गर्न सकिने छैन भन्नेमा सरोकारवालाहरू एकमत छन् ।

प्रतिक्रिया