Listen LIVE

रूपईडिहामा निकालियो तिरङा यात्रा

नेपालगञ्ज : नेपालगञ्जको सीमावर्ती भारतीय बजार रुपईडिहामा आज तिरङा यात्रा निकालिएको छ । आदर्श नगर पञ्चायत रूपईडिहाका अध्यक्ष डा. उमाशंकर वैश्यको नेतृत्वमा तिरङा यात्रा निकालिएको हो । 

भारत–नेपाल सीमामा अवस्थित प्रमुख प्रवेशद्वार रूपईडिहामा निकालिएको तिरङा यात्रामा ‘भारत माता की जय’, ‘वन्दे मातरम्’ र ‘हिन्दुस्तान जिन्दाबाद’ जस्ता देशभक्ति नाराहरू लगाइएको थियो ।

भारतीय जनता पार्टी (भाजपा) र युवा मोर्चाका पदाधिकारीहरूको सहभागितामा करिब तीन सय मोटरसाइकलसहित युवाहरूले तिरङा यात्रा निकालेर स्वतन्त्रताको अमृत महोत्सव धुमधामले मनाउन अपील गरिएको थियो ।

तिरङा यात्रा छोटी नहरबाट शुरु भई सीमावर्ती क्षेत्र रूपईडिहा–जमुनाहा सीमानाका हुँदै नगर भ्रमण गरी पञ्चायत भवनमा पुगेर सम्पन्न भएको थियो । उक्त र्यालीमा युवा मोर्चाका मण्डल अध्यक्ष शिवराज सिंह र भाजपाका मण्डल अध्यक्ष महराजदीन वर्मालगायतका नेता कार्यकता सहभागी भएका थिए ।

र्यालीका क्रममा रुपईडिहाको सुरक्षा व्यवस्था कडा पारिएको त्यहाँबाट हाम्रा सहकर्मी सन्तोष शुक्लाले जनाएका छन् ।

प्रतिक्रिया