Listen LIVE

राप्तीसोनारीमा पाँच दिने आधारभुत पत्रकारिता तालिम शुरु

राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिका–४ बैजापुरमा शुक्रबारदेखि आधारभूत पत्रकारिता तालिम शुरु भएको छ । बैजनाथ राष्ट्रिय दैनिकको आयोजना र राप्तीसोनारी वडा नम्बर ४ को आर्थिक सहयोगमा ५ दिने आधारभुत पत्रकारिता तालिम शुरु भएको हो ।

राप्तीसोनारी–४ की वडा सदस्य सोहनी थारुको प्रमुख आतिथ्यमा शुरु भएको तालिममा वडाभित्र बसोबास गर्ने १४ जना युवा–युवतीलाई पत्रकारिताका आधारभूत सिद्धान्त र लेखनशैली सम्बन्धी प्रशिक्षण प्रदान गरिनेछ ।

तालिमबारे जानकारी दिँदै प्रेस सेन्टर नेपाल राप्तीसोनारीका अध्यक्ष ईश्वरी केसीलेस्थानीय युवालाई सञ्चारको माध्यमबाट समाजमा सचेतना फैलाउने र लेखन कौशलमा निपुण बनाउने तालिमको उद्देश्य रहेको बताए ।

तालिममा रासस (राष्ट्रिय समाचार समिति) का पत्रकार कबिन्द्र परियार र पत्रकार कुशल दलामीले सहभागीहरुलाई पत्रकारिताका सैद्धान्तिक पक्ष, समाचार लेखनशैली, स्रोतको विश्वसनीयता, एङ्गलको छनोट, शीर्षक लेखनजस्ता विषयमा प्रशिक्षण दिने छन् ।

स्थानीयस्तरमा सञ्चारको पहुँच बढाउँदै युवालाई सक्रिय बनाउने उद्देश्यले आयोजना गरिएको तालिमले पत्रकारिता क्षेत्रप्रति युवाको चासो र आकर्षण बढाउने अपेक्षा गरिएको छ । तालीमको उदघाट्न सत्र बैजनाथ राष्ट्रिय दैनिकका प्रकाशक कुशल दलामीको सभापतित्वमा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया