Listen LIVE

लागूऔषधसहित बाँकेमा ३ जना पक्राउ

नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले लागूऔषधसहित तीन जनालाई नेपालगञ्ज र कोहलपुरबाट पक्राउ गरेको छ।

कोहलपुर–३ का २७ वर्षीय नारायण बिकलाई ७१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बि.क. ले चलाएको भे १० प ४७१६ नम्बरको मोटरसाइकल जाँच गर्दा हेल्मेट भित्र लुकाइ ल्याएको लागूऔषध फेला परेको हो।

त्यस्तै, नेपालगञ्ज–१६ का १९ वर्षीय समिर बेहना र ३१ वर्षीय जुमाई सिद्धिकीलाई पनि लागूऔषधसहित पक्राउ गरिएको छ। नेपालगञ्ज–२१ स्थित सडक किनारमा शंकास्पद रूपमा हिँडिरहेका उनीहरूको शरीर खानतलासी गर्दा ७० ग्राम ५२० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरी प्रवक्ता दीपक पातलीले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ परेका सबै विरुद्ध थप अनुसन्धान भइरहेको छ। यसअघि मंगलबार पनि प्रहरीले तीन जनालाई एक क्विन्टल ११ किलो गाँजासहित नियन्त्रणमा लिएको थियो। नेपालगञ्ज उपमहानगरपालिका–१४ का १८ वर्षीय विनय सोनी, वडा नम्बर २२ का १८ वर्षीय आदर्श साहनी र वडा नम्बर ६ फुलटेक्राका २२ वर्षीय दिपेश चौरसियालाई अवैध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको थियो।

प्रतिक्रिया