Listen LIVE

तराई झरेकाहरूले पनि मनाए भुवा पर्व

कैलाली : कैलालीको घोडाघोडी नगरपालिकामा सोमबार पहिलो पटक भुवा पर्व मनाइएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरा, अछाम, डोटी र कर्णाली प्रदेशको कालीकोट दैलेख जिल्लाबाट बसाइसरी घोडाघोडी नगरपालिकामा बसोबास गर्दै आएकाहरूले सामुहिकरूपमा भुवा पर्व मनाएका हुन् ।

पुस १५ लाई विभिन्न समुदायले आफ्नो परम्परागत शैलीमा  मनाउने  गरिए पनि पहिलो पटक सबै जना एकै ठाउँमा जम्मा भएर ‘भुवा नाच’ का साथ पर्व मनाउँदा पाउँदा पहाडको झल्को मेटिएको भन्दै खुसी भएका छन् ।

बाजुराबाट बसाइसरी घोडाघोडी नगरपालिका –२ साँडेपानीमा बसोवास गर्ने भिमा रोकयाले पहिलो पटक तराईमा मनाएको भुवा पर्वले पहाडको सम्झना आएको बताइन् ।

उनले भनिन, “पहाडमा भुवा नाचका लागि छुट्टै ठाउँ हुन्थ्यो । तरबार र ढाल हातमा लिएर नाच्छन् । ठुला आगोको मुडा बालेर रातभर नाच्छन् । बिहान भएपछि खुसीयालीमा खसी, दाल, चामल एकै ठाउँमा पकाएर खाएर रमाउँछन् ।”

भिमाले तराई आएपछि पहिलो पटक भुवा पर्व मनाएको बताइन् । भुवामा नाच्नेहरूले पनि खासै ताल नमिलाएको जनाउँदै उनले आफ्नो संस्कृति बचाउन यसैगरी युवाहरूले सिक्दै जानुपर्ने बताइन् ।

घोडाघोडी –१ सुखडको हेलीप्याडमा आयोजित भुवा पर्वको अवसरमा आयोजित भुवा नाच हेर्न आएका कालीकोटका वीरे सार्कीले पहिलो पटक भुवा नाच हेर्न पाउँदा पहाडको झल्को मेटिएको बताए । 

बडिमालिका सेवा समाजले भुवा पर्वको अवसरमा भुवा पर्व तथा देउडा कार्यक्रमको आयोजना गरी पहिलो पटक भुवा नाचको व्यवस्था गरेको हो । समाजका अध्यक्ष लक्ष्मण शाहीले सुदूरपश्चिमका पहाडी जिल्लामा आजबाट सांस्कृतिक पर्व ‘भुवा’ सुरु भएको जनाउँदै आफूहरूले तराईमा समेत यो पर्व मनाउने जमर्को गरेको बताए । उनले भुवा पर्वको बारेमा भने, “महाभारतको कथा (पाण्डव र कौरबको युद्ध) गाथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भस्सो’ भन्ने गर्छन् । मौलिक लय र भाकामा खेलिने भुवाको आफ्नै महत्त्व छ । 

दमाहाको तालसँगै एक हातमा तरबार र अर्को हातमा ढाल नचाइने यो पर्वमा सुदूरपश्चिमका गाउँबेसीमा युद्धकालीन कौशलताको झल्को दिने झाँकी प्रदर्शन हुन्छन् । खासमा, त्यो भुवा पर्वको उल्लास हो ।”

अध्यक्ष शाहीले यो पर्वमा ढाल र तरबारसहित चाली खेल्ने प्रचलन रहँदै आएको र पर्वको मुख्य आकर्षण नै ‘भुवा नाच’ रहेको बताए । पुसे औंसीको राति भुवाखाडोमा आगो बालेपछि यो पर्व सुरु हुने भएकाले पहाडमा यो पर्वको विशेष महत्त्व रहेको बताइन्छ ।

प्रतिक्रिया