नेपालगञ्ज : बाँकेमा दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतनाका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दैनिक रूपमा विभिन्न कार्यव्रmम सञ्चालन गर्दै आएको भए पनि ट्राफिक नियम उल्लङ्घन गर्ने र दुर्घटना हुने क्रम भने बढ्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले मङ्गलबार सार्वजनिक गरेको चैत महिनाको विवरण अनुसार जिल्लामा चैत महिनामा मात्रै ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ७२० वटा सवारीसाधनलाई कारबाही गरेर २९ लाख ५८ हजार रुपैयाँ जरिबाना सङ्कलन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले मासिक विवरण सार्वजनिक गर्दै निरन्तर रूपमा ट्राफिक सचेतनाका कार्यक्रम सञ्चालन गरिए पनि चैत महिनामा बाँके जिल्लामा ७१ वटा सवारी दुर्घटना भएको बताए ।
उनले ती दुर्घटनामा परेर सात जनाको मृत्यु हुनुका साथै १२० जना घाइते भएको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चैत महिनामा मात्रै जिल्लाका विभिन्न स्थानमा २६३ वटा ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम गरेर चालक, सर्वसाधारण र विद्यार्थीलाई ट्राफिक नियमबारे जानकारी गराए पनि ट्राफिक नियम उल्लङ्घन र दुर्घटना दुवै बढेको प्रहरी प्रमुख कार्कीले बताए । उनले फागुन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ६९४ र माघ महिनामा तीन हजार २९७ वटा सवारीसाधनलाई कारबाही गरिएको जनाउँदै तर चैत महिनामा सो सङ्ख्या घट्नुपर्नेमा वृद्धि भएको बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको चैत महिनाको विवरणमा एक महिनामा भारतबाट अवैध रूपमा ल्याउँदै गरेको १३ लाख ६९ हजार ३५० रुपियाँको अवैध सामान बरामद गरेर भन्सारमा बुझाइएको, तीन लाख चार हजार ६३५ रुपैयाँ बराबरको अवैध ब्रोइलर कुखुरा बरामद गरी पशु क्वारेन्टाइन कार्यालयमा पठाइएको र १५८ वटा मुद्दा दर्ता भएकोमा १९३ जनालाई पक्राउ गरी कानुनबमोजिम कारबाही गरिएको उल्लेख गरिएको छ ।
त्यसै गरी चैत महिनामा ५८ जना फरार अपराधी पक्राउ गरिएको, १२८ ग्राम २४१ मिलिग्राम ब्राउनसुगर र २४४ ग्राम चरेससहित १६ जनालाई पक्राउ गरेर कारबाही गरिएको तथा सचेतनामूलक कार्यक्रम अन्तर्गत लागुऔषध र लैङ्गिक हिंसासम्बन्धी १४१ वटा सचेतनाका कार्यक्रम पनि सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार