Listen LIVE

नेपालगञ्जमा अत्याधुनिक प्रादेशिक ब्लड बैंक स्थापना

नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा ६०औँ रक्तसञ्चार सेवा दिवसको अवसर पारेर अत्याधुनिक सुविधा सम्पन्न ब्लड बैङ्कको शुभारम्भ गरिएको छ ।

सोमबार एक भव्य समारोहका बिच नेपाल रेडक्रस सोसाइटिका केन्द्रीय महामन्त्री मीन बहादुर मल्लले प्रादेशिक ब्लड बैङ्कको उदघाटन गरेका हुन् ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको २ करोड ९५ लाखको लागतमा निर्माण भएको उक्त प्रादेशिक ब्लड बैङ्कको तत्कालीन मन्त्री मोहम्मद इस्तियाक राईले २०७९ भाद्र ३० गते शिलान्यास गरे पछि उक्त भवनको निर्माण शुरु गरिएको थियो । तिन वर्षपश्चात् निर्माण सम्पन्न भए पछि सडक डिभिजन कार्यालय बाँकेले नेपाल रेडक्रस सोसाइटी बाँकेलाई भवन हस्तान्तरण गरेको हो ।

कार्यक्रममा महामन्त्री मल्लले स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अझै परिपूर्ण हुन बाँकी रहेको बताए । उनले प्रादेशिक ब्लड बैङ्क स्थापनाबाट लुम्बिनी प्रदेश तथा पश्चिम नेपालका बासिन्दालाई समयमा रगत उपलब्ध भई जीवन रक्षामा ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । विशेष गरी गर्भवती महिलाहरूले रगत अभावका कारण भोग्नुपर्ने समस्याबाट मुक्ति मिल्नेमा पनि मल्लले आशा व्यक्त गरे ।

कार्यक्रममा भेरी अस्पताल विकास समितिका अध्यक्ष बिरेन्द्र बहादुर शाहले भेरी अस्पताल परिसरमा प्रादेशिक ब्लड बैङ्कको सुविधि सम्पन्न भवन स्थापना हुनु बाँके जिल्लावासीका लागि गौरवको विषय रहेको बताए । सङ्घ, प्रदेश र स्थानीय तह मिलेर मात्र देशको समृद्धि सम्भव हुने उल्लेख गर्दै उनले बिरामीलाई शुलभ सेवा कसरी प्रदान गर्ने भन्ने कुरामा ध्यान दिनुपर्ने धारणा राखे ।

नेपाल रेडक्रस सोसाइटी बाँकेका मन्त्री अजिज अहमद सिद्धिकिले पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले ब्लड बैङ्कको भवन निर्माणका लागि बजेट विनियोजन गरी पश्चिम नेपालका नागरिकलाई नयाँ जीवन दिएको स्मरण गर्दै ब्लड बैङ्कको सुधारका लागि निरन्तर सहयोग गर्दै आएका पूर्व मन्त्री राई, रक्तदाता, रेडक्रसकर्मी, ब्लड बैङ्कका प्राविधिक र भेरी अस्पतालका चिकित्सकहरूलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा रेडक्रस बाँकेका सभापति गोवर्धन सिंह सम्झनाले ब्लड बैङ्कको निजी भवनको स्थापनाको सपना २०३३ सालदेखि देख्दै आएका बाँके जिल्लावासीका लागि आजको दिन ऐतिहासिक बनेको बताए ।

रेडक्रसले विपद्को क्रममा खोज तथा उद्धार, राहत र पुनर्लाभसँगै ९० प्रकृतिका सेवा देशभर प्रवाह गरिरहेको बताउँदै रक्त संचार सेवा समितिका सदस्य आलम खानले भने, ‘रेडक्रसले विपद्को क्रममा खोज तथा उद्धार, राहत र पुनर्लाभ वितरणसँगै ९० प्रकृतिका सेवा देशभर प्रवाह गर्दै आएको छ ।’, रेडक्रस आफ्नो दायित्व र जिम्मेवारीबाट कहिल्यै विचलित नहुने खानको भनाई थियो ।

नेपाल रेडक्रसका विभिन्न मानवीय कार्यक्रममध्ये रक्तसञ्चार सेवा उच्च प्राथमिकतामा रहेको ब्लड बैङ्कका वरिष्ठ प्राविधिक उपेन्द्र रेग्मीले बताए । प्रादेशिक रक्तसञ्चार केन्द्रमा दैनिक १०० युनिटभन्दा बढीको रगत माग हुने गरेको र सोही अनुपातमा आपूर्तिसमेत हुने गरेको रेग्मीले जानकारी दिए ।

रक्त संचार सेवा समितिका सभापति राज कुमार बर्माको अध्यक्षतामा भएको  कार्यक्रममा नेपाल रेडक्रस बाँकेका उपसभापति शान्ति श्रेष्ठ, सुरेन्द्रनाथ सापकोटा, कोषाध्यक्ष राकेश श्रीवास्ताव, रेडक्रसका उपनिर्देशक दोलख बहादुर डाँगी र दैलेखी सेवा समाज बाँकेका अध्यक्ष पूर्ण देव गिरी,सरकारी तथा गैरसरकारी क्षेत्रका विभिन्न प्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार, सामाजिक अभियन्ता तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन झवि शर्माले गरेका थिए ।

प्रतिक्रिया