नेपालगञ्ज : आज श्रावण महिनाको पहिलो सोमबार, देशभरका शिव मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ । विशेषगरी बोलबम काँवरिया यात्राले साउनको रौनक थपिएको छ ।
हिन्दू धर्मावलम्बीहरूले यो पवित्र महिनामा हरेक सोमबार चोखो पानी लिएर शिवालयमा अर्पण गर्ने र शिवको पूजा–आराधना गर्ने गर्छन् ।
देशका विभिन्न भागमा बोलबम यात्रा उत्साहका साथ शुरु भएको छ । नेपालगञ्जको बागेश्वरी मन्दिरको परिसरमा अवस्थित जुँगेश्वर महादेव, राप्तीको सिधनियाघाट, बाँकेगाउँको शिवालयलगायत जिल्लाको हरेक शिव मन्दिर शिवालयहरुमा जल अर्पण गर्ने गरिएको शिवभक्त गौरव जयसवालले बताए ।
यसैगरी काठमाण्डौको पशुपतिनाथ मन्दिरमा बोलबम मेला भर्न नेपालका विभिन्न क्षेत्र र छिमेकी मुलुक भारतबाट समेत हजारौँ भक्तजनहरू आएका छन् । निश्चित् समूह बनाएर पानीको मुहानबाट चोखो जल लिएर शिवालयसम्म पुग्ने यो परम्पराले धार्मिक र सांस्कृतिक महत्व बोकेको छ ।
साउन महिनाको सोमबारलाई भगवान् शिवको प्रिय दिन मानिन्छ । विशेषगरी हिन्दू नारीहरूले दिनभर व्रत बसेर शिवको पूजा–आराधना गर्ने गर्छन् । यो व्रत र पूजाले मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ । पशुपतिनाथलगायत देशभरका शिव मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
बोलबम यात्रा र साउनको सोमबारले धार्मिक एकताको सन्देश बोकेको भक्तजनहरू बताउँछन् । “यो पवित्र यात्राले मन शान्त हुन्छ र भगवान् शिवको कृपाले जीवनमा सकारात्मक ऊर्जा प्राप्त हुन्छ,” शिवभक्त पंकज बैश्यले भने ।
साउन महिनाभर हरेक सोमबार यस्ता धार्मिक गतिविधिहरूले देशभरको वातावरण भक्तिमय बन्ने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार