Listen LIVE

संविधान दिवसमा नेपालगञ्जमा विभिन्न कार्यक्रम, ७ जना सम्मानित

नेपालगञ्ज : विभिन्न क्षेत्रमा ठुलो योगदान पुर्याएका बाँकेका सात जना वरिष्ठ व्यक्तिहरुलाई संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा विहिबार नेपालगञ्जमा सम्मान गरिएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मूल समारोह समिति बाँकेले आयोजना गरेको एक कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो । 

यसरी सम्मानित हुनेहरुमा बाँकेका वरिष्ठ साहित्यकारहरु वरिष्ठ कथाकार सनतकुमार रेग्मी, उर्दूका वरिष्ठ शायर अब्दुल लतिफ शोैक, समाजसेवी तथा करिब २० करोडको जग्गादाता जयकेश सिंह, बाँकेमा सबैभन्दा बढी १७६ पटक रक्तदान गर्ने रक्तदाता गोपीलाल बैश्य, महिलाहरुमा सबैभन्दा बढी ६५ पटक रक्तदान गर्ने रक्तदाता सरिता ज्ञवाली, कोभिडको समयदेखि नै भेरी अस्पताल परिसरमा सस्तोमा राम्रो खाना खुवाउँदै आएका अन्जनी माता रसोईका सञ्चालक जितेन्द्र कुमारसिंह र योगमार्फत मानवसेवा निरन्तर क्रियाशील योग गुरु गिरिराज भट्टराई रहेका छन् । 

उनीहरुलाई जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश चन्द्रबहादुर सारु, नेपालगञ्जका मेयर प्रशान्त बिष्ट र संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मूल समारोह समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेर सम्मानित गरे । 

ऐतिहासिक र महान् दिनमा सम्मान गरिएकोमा गौरवको अनूभूति भइरहेको सम्मानित भएका वरिष्ठ कथाकार सनतकुमार रेग्मीले प्रतिक्रिया दिए । 

संविधान दिवसकै अवसर पारेर आयोजना गरिएको भलिभल प्रतियोगिता र वक्तृत्वकला प्रतियोगितामा विजयी भएकाहरुलाई पनि सोही अवसरमा पुरस्कार र प्रमाणपत्र बितरण गरिएको थियो । 

भलिबल प्रतियोगितामा बाँके जिल्ला भलिबल सङ्घ प्रथम, नेपाली सेना दोस्रो र नेपाल प्रहरीको टोली तेस्रो स्थान पाउन सफल भएका थिए । 

संविधानको महत्व र आवश्यकता विषयमा आयोजित वक्तृत्वकलामा प्रथम, द्वितीय र तृतीय भएका तीन जना बालक र तीन जना बालिकालाई पनि सोही अवसरमा पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । 

प्रमुख जिल्ला अधिकारी रिजालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस बाँकेका गोपाल अधिकारी, नेकपा एमालेका मीनबहादुर मल्ल, नेकपा माओवादी केन्द्रका नरेन्द्र पाण्डे, जनता समाजवादी पार्टीका बसन्त कनौजिया, नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ र वरिष्ठ कानुन व्यवसायी सुनिल श्रेष्ठलगायत अतिथिले पनि संविधानको महत्व बारे आ–आफ्नो धारणा राखेका थिए । 

यसअघि बाजागाजासहित जिल्ला प्रशासन कार्यालयबाट निस्केको संविधान दिवसको र्यालीले नगर परिक्रमा गर्दै भेरी प्राविधिकमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

प्रतिक्रिया