नेपालगञ्ज : लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले नेपाल भारत नाकाहरूबाट हुने मानव बेचबिखन नियन्त्रणमा दुबै देशका सरकारी अधिकारी र गैर सरकारी निकायबिच सहकार्यमा जोड दिएका छन् ।
माइती नेपालले नेपाल र भारतका सुरक्षा अधिकारी र विभिन्न गैर सरकारी सङ्घसंस्थाका प्रतिनिधिको उपस्थितिमा शुक्रबार नेपालगञ्जमा आयोजना गरेको मानवबेचबिखन नियन्त्रणमा दुबै देशका सरोकारवालाको भूमिका विषयक क्रस बर्डर बैठकको उदघाटन गर्दै मन्त्री तिमिल्सेनाले सो बताएका हुन् । उनले गरिबी र अशिक्षाका कारण पश्चिम नेपालका पहाडी जिल्लाका सोझा साझा महिला र युवतीहरू मानव बेचबिखनमा पर्दै आएकोले सरकारले सो रोक्न विशेष योजना बनाउने तयारी गरिरहेको बताए ।
नेपालगञ्ज लगायत लुम्बिनी प्रदेशका सबै नाका बेचबिखनको उच्च जोखिममा रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सेनाले सो रोक्न प्रशासनिक कडाइका साथै नेपाल र भारतका सुरक्षा निकायबिच विशेष सहकार्य तथा समन्वय आवश्यक रहेको बताए । उनले दुबै देशबिच सो रोक्न सहकार्य र सहयोग बिगतबाटै हुँदै आएकोमा त्यसलाई झनै बढाउनुपर्ने र दुबै देशका अन्तरदेशीय कानुन पनि सो कार्यलाई सहयोग पुरयाउने खालका हुनुपर्नेमा जोड दिए ।
नेपाल र भारतका विभिन्न गैर सरकारी सङ्घसंस्थाका ठुलो सङ्ख्याका प्रतिनिधिहरूको सहभागिता रहेको सो कार्यक्रममा माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्का र मानव सेवा संस्थान गोरखपुर भारतका कार्यक्रम निर्देशक मोहम्मद शमुनले विषयगत कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगको नेपालगञ्ज कार्यालयका प्रमुख द्वारिका अधिकारी, दिल्ली पुलिसका इन्सपेक्टर केहर सिहं, जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सिता कार्की, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, जिल्ला प्रहरी प्रमुख एसपी तुल बहादुर कार्की, युएसएड आइडीको हाम्रो सम्मान कार्यक्रमका प्रमुख सिता घिमिरे, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्ररिसी चौलागाई र माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइराला लगायतले मानव बेचबिखनको अवस्था, कारण र रोकथाममा दखिएका चुनौतीहरूका बारेमा आआफ्नो धारणा राखेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार