Listen LIVE

७८ मध्ये ३२ जना बालबन्दी पक्राउ, ४६ अझै फरार

नेपालगञ्ज : गत भदौ २४ गते राति ‘जेनजी आन्दोलन’का क्रममा बाँकेको बैजनाथस्थित नौवस्ता बालसुधार गृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ भने ४६ जना अझै फरार रहेका छन् ।

जेनजी आन्दोलनको दोस्रो दिन, भदौ २४ गते राति प्रहरीसँगको भिडन्तपछि ती बालबन्दीहरू भागेका थिए । सो क्रममा प्रहरीले गोली प्रहार गर्दा अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय बिनेश घर्ती मगर, बाँकेका २० वर्षीय समिर थापा, दैलेखका २१ वर्षीय भुपेन्द्र खत्री र कैलालीका १९ वर्षीय जगत देउवाको मृत्यु भएको थियो । घटनामा घाइते भएका दुई जनालाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

नौवस्ता बालसुधार गृहका प्रमुख श्यामबहादुर रानाका अनुसार हालसम्म २९ जना बालबन्दीलाई पक्राउ गरी पुनः सुधार गृहमा ल्याइएको छ भने तीन जनालाई चितवनमा पक्राउ गरी ल्याउने तयारी भइरहेको छ । बाँकी ४६ जना अझै सम्पर्कविहीन रहेको र तिनीहरूको खोजी तीव्ररूपमा जारी रहेको बताए ।

रानाका अनुसार फरार बालबन्दीहरूलाई पक्राउ गर्न प्रहरीले नेपाल–भारतका नाकाहरूमा निगरानी कडा पारेको छ र पहाडी जिल्लासम्म खोजी सञ्जाल विस्तार गरिएको छ । उनले भने, “दसैंको समयमा उनीहरू घरतिर जाने सम्भावना रहेकाले ठेगानाका आधारमा पनि प्रहरी परिचालन गरिएको छ ।”

जिल्ला प्रहरी कार्यालय बाँकेले पनि फरार बालबन्दीहरूको खोजीका लागि थप प्रहरी परिचालन गरिएको जनाएको छ ।

यसअघि बालसुधार गृह र कारागार प्रशासनले फरार भएका सबै बालबन्दी र कैदीबन्दीहरूलाई असोज २० गतेभित्र फर्किन चेतावनी दिँदै समयसीमा निर्धारण गरेको थियो । तर समयसीमा सकिन लाग्दा पनि उनीहरू नफर्किएको नौवस्ता बालसुधार गृहले जनाएको छ । फर्किन अस्वीकार गर्नेहरूलाई कारागार ऐनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।

जेनजी आन्दोलनको दोस्रो दिन नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भागेको समाचार सार्वजनिक भएपछि नौवस्ता बालसुधार गृहमा पनि आन्दोलन चर्किएको थियो । लामिछानेको घटनापछि ‘हामीलाई पनि छाड्नुपर्छ’ भन्दै बालबन्दीहरूले आन्दोलन सुरु गरेपछि सो रात ७८ जना भागेका थिए । भाग्ने क्रममा केहीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिन सफल भए पनि पाँच जनाको मृत्यु भएको र ४६ जना अझै बेपत्ता रहेको पुष्टि गरिएको छ ।

प्रतिक्रिया