Listen LIVE

विभिन्न कार्यक्रमका साथ कोहलपुरमा मनाइयो श्रमिक दिवस

नेपालगञ्ज : अन्तर्राष्ट्रिय श्रमिक दिवस आज कोहलपुरमा विभिन्न कार्यक्रमका साथ मनाइएको छ । १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा प्रभात फेरीका साथै विभिन्न कार्यक्रम गरिएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) का केन्द्रीय अनुशासन आयोग सदस्य एवम् संविधानसभा सदस्य देवराज भारले मजदुर र श्रमिकले अझ धेरै हक अधिकारका लागि लड्न बाँकी रहेको बताएका छन् ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) बाँके र पेसागत महासङ्घ बाँकेले बिहीबार बिहान बाँकेको कोहलपुरमा संयुक्तरूपमा आयोजना गरेको १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संविधानसभा सदस्य भारले भने, “आजको दिन मजदुर श्रमिक वर्गका लागि पर्वको दिन हो, तत्कालीन मजदुर नेतृत्वले शासक वर्गसँग लडाइँ गरेर बलिदानीपूर्वक ल्याएको दिन हो, मजदुर र श्रमिकका हक अधिकारका क्षेत्रमा केही कुराहरू प्राप्ति भए पनि अझ धेरै हक अधिकार प्राप्ति गर्नुपर्ने छ । सबै मजदुर र श्रमिक वर्गले लडाइँ लड्न बाँकी छ ।”

नेपालमा २००७ सालको क्रान्ति पनि मजदुर आन्दोलनको नेतृत्वमा भएको भन्दै त्यसपछि मजदुर आन्दोलनले बिस्तारै रूप लिँदैआएको र मजदुरहरु सङ्गठित हुन थालेको उनले बताए । संविधानसभा सदस्य भारले तत्कालीन अवस्थामा स्व. मनमोहन अधिकारीलगायतका नेताहरूले मजदुर आन्दोलनको नेतृत्व गर्दै आम शोषित पीडित मजदुर र श्रमिकका पक्षमा आवाज बुलन्द गर्दै सङ्घर्ष गरेका कारण नेपालमा आज मजदुर र श्रमिकका पक्षमा केही भए पनि प्राप्ति भएको बताए ।

उनले मजदुर र श्रमिकका पक्ष र हितमा अझै धेरै ऐन कानुन तथा आयोग बन्नुपर्ने भन्दै बनेका ऐन तथा कानुनहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । सम्पूर्ण श्रमजीवी वर्गले शासकहरूसँग आफ्नो हक र अधिकारका लागि निरन्तर सङ्घर्ष गर्नुपर्ने र आवाज उठाइ राख्नुपर्ने बताए ।

लुम्बिनी प्रदेशसभा सदस्य वसन्ती अधिकारीले विराटनगर जुट मिलका मजदुरहरूले आफ्नो हक अधिकारका लागि विभिन्न मागहरू राखेर आन्दोलन गरेको स्मरण गर्दै सबै क्षेत्रका मजदुर र श्रमिक सङ्गठित हुनुपर्ने बताइन् । 

जिफन्टका केन्द्रीय सदस्य पूर्णबहादुर केसीले मे दिवस मजदुरहरूले मुक्ति प्राप्ति गरेको दिन भन्दै सबै मजदुर र श्रमिकहरूले यो दिनलाई खुसीयालीका साथ मनाउनुपर्ने बताए । 

कार्यक्रममा पेसागत महासङ्घका केन्द्रीय सदस्य मानबहादुर थापा, जिफन्ट कोहलपुर नगर इन्चार्ज मङ्गला जैसी लगायतले सम्बोधन गरेका थिए । कार्यक्रम सुरु हुनुपूर्व मजदुर तथा श्रमिकहरूले कोहलपुर चौराहामा प्रदर्शन गरेका थिए । 

कार्यक्रममा निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको पेसागत महासङ्घ बाँकेका अध्यक्ष दुर्गा डाँगीले बताए । उनका अनुसार कौशिल्या अस्पताल प्रालि कोहलपुरले निःशुल्क आँखा शिविर र कोहलपुर डेन्टल हस्पिटल कोहलपुरले निःशुल्क दाँत शिविरको आयोजना गरेर सयौँ मजदुर र श्रमिकको निःशुल्क रूपमा स्वास्थ्य परीक्षण सेवा प्रदान गरेका थिए ।

प्रतिक्रिया