नेपालगञ्ज : बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारी तथा राजापुर नगरपालिकाको समन्वयमा मानव बेचबिखनका घटनामा प्रभावकारी समन्वयकालागि सीमा क्षेत्रमा कार्यरत जिम्मेवार निकायहरुसंग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सुरक्षा परियोजना अन्तर्गत आयोजित सो कार्यक्रममा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, नीति निर्माण तहका प्रतिनिधि तथा स्थानीय सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उप–प्रमुख मनकला कुमारी चौधरी, नेपाल प्रहरीका प्रतिनिधि, वडा अध्यक्षहरू, स्थानीय मानवबेचविखन नियन्त्रण समितिका सदस्यहरू तथा विभिन्न सरकारी निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
नेपाल प्रहरी महिला तथा बालबालिका सेवा इकाइ राजापुरकी प्रमुख अनिता चौधरीको आतिथ्यमा सञ्चालन गरिएको कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बीकेले सहजीकरण गरेका थिए । कार्यक्रममा फिल्ड सुपरभाइजर प्रमिशा थारुले सहकार्य गरेकी थिइन् ।
अन्तक्र्रिया कार्यक्रममा राजापुर नगरपालिकामा देखिएका मानव बेचबिखन तथा सीमापार आवागमनसँग सम्बन्धित वर्तमान अवस्था र चुनौतीहरू, सीमा क्षेत्रमा कार्यरत निकाय, सुरक्षा निकाय, स्थानीय सरकार र नागरिक समाजबीचको भूमिका र समन्वय प्रणाली, महिला, बालबालिका तथा किशोरीजस्ता उच्च जोखिम समूहको पहिचान, पीडितको संरक्षण, उद्धार, मनोसामाजिक सहयोग तथा मुद्दा सिफारिस प्रणाली सुदृढ गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो । साथै, स्थानीय तहमा तथ्यांक संकलन, अभिलेखीकरण र अनुगमन प्रणालीमा रहेका खाडलहरूबारे पनि समीक्षा गरिएको थियो ।
कार्यक्रमको महत्वपूर्ण उपलब्धिका रूपमा सहभागीहरूले संयुक्तरूपमा उच्च जोखिम समुदाय तथा परिवार, मानव बेचबिखन र शोषणका पीडितहरू, तथा संरक्षणको जोखिममा रहेका महिला, बालबालिका र किशोरीहरूको पहिचानका लागि समन्वित तथ्यांक संकलन प्रक्रिया सुरु गर्ने सहमति गरेका छन् ।
उक्त तथ्यांक जनवरी महिनादेखिका घटनाहरू समेटिने गरी राजापुर नगरपालिका, नेपाल प्रहरी, स्थानीय मानवबेचविखन नियन्त्रण समितिका सदस्य, वडा प्रतिनिधि तथा बाँके युनेस्को क्लबको सहकार्यमा संकलन गरिनेछ ।
संकलित तथ्यांक संरक्षण योजना, रोकथाम रणनीति तथा समयमै प्रतिक्रिया सुनिश्चित गर्न प्रयोग गरिनेछ भने पीडितको गोपनीयता र सुरक्षालाई पूर्ण रूपमा सुनिश्चित् गरिनेछ ।
कार्यक्रमको समापन गर्दै नगरप्रमुख दिपेश थारुले मानव बेचबिखन रोकथामका लागि अन्तर–निकाय समन्वय र प्रमाणमा आधारित योजना अत्यन्त आवश्यक रहेको उल्लेख गर । उनले सुरक्षा परियोजनाअन्तर्गत प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबसँग निरन्तर सहकार्य गर्दै स्थानीय संरक्षण संयन्त्रलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।
साथै, नगर प्रमुख थारुले महिलाहरू र बालबालिकाको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित् गर्न सबै सरोकारवालाले सामूहिक जिम्मेवारी लिनुपर्नेमा जोड दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार