Listen LIVE

बाजुरामा बाक्लो हिमपात, जनजीवन प्रभावित

बाजुरा : बाजुरामा हिमपात सुरु भएको छ । जिल्लाको उच्च स्थानमा अर्थात् हिमाली क्षेत्रका विभिन्न ठाउँमा हिमपात भएपछि यहाँका स्थानीयको जनजीवन निकै प्रभावित भएको छ ।

आइतबार रातिदेखि यहाँका बडिमालिका बुढीनन्दा जगनाथ मिली स्वामिकार्तिकलगायतका उच्च स्थानमा हिउँ पर्न सुरु भएपछि अहिले यहाँको जनजीवन निकै प्रभावित भएको हो ।

यहाँ बाक्लो हिमपात भएपछि अहिले यहाँका बालबालिका तथा वयोवृद्धहरुलाई घर बाहिर आउजाउ गर्न निकै कठिन भएको छ ।

त्यति मात्र होइन बाहिर हिउले पूरै जमिन पुरेपछि अहिले यहाँका स्थानीयलाई गाई भैँसी भेडाबाख्रालाई समेत चरिचरन गर्न तथा घाँसपात गर्न समेत निकै समस्या भएको छ ।

बाक्लो हिमपात कारण चिसो बढेसँगै अहिले यहाँका बालबालिकाहरुलाई रुघाखोकी न्यूमोनिया ज्वोरो डर हुने सम्भावना छ  ।

मङ्सिर, पुस र माघको महिनादेखि नै यहाँका अधिकांश ठाउँमा धेरै चिसो हुने गर्छ । त्यसैमा यति बेला आइतबार रातिदेखि बाक्लो हिमपात भएपछि अहिले यहाँका बालबालिकाहरुलाई विद्यालय जान त के घरबाहिर निस्कनसमेत कठिन भएको छ ।

विद्यालयको वरिपरि बाक्लो हिमपात भएपछि चिसोले पठनपाठनमा निकै समस्या भएको सिद्धेश्वरी अनाथ तथा जनजीय आवासीय विद्यालयमा कक्षा ४ मा अध्ययनरत छात्र कुसाङ्ग कुँवर भोटेले बताए ।

उनले भने, “यहाँ उसै त हिउँदको महिना धेरै चिसो हुने गरेकोले बाहिर निक्लिन सकिँदैन थियो । यति बेला त्यसैमा फेरि बाक्लो हिउँ परेपछि विद्यालयको कक्षा कोठामा बसेर पढ्न निकै समस्या भएको छ ।”

हाम्रो शरीरमा बाक्लो लुगा भएको भए चिसो छल्न निकै सहज हुन्थ्यो । शरीरमा बाक्लो लुगा छैन । बाक्लो लुगा नहुँदा विद्यालयको कक्षा कोठामा बसेर बढ्न समस्या भएको भोटेले बताए ।

जिल्लाको बुढीनन्दा नगरपालिका –९ डाप्कमा रहेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजीय आवासीय विद्यालयमा प्रायः अनाथ टुहुरा जनजाति हलिया दलित बालबालिकाहरु अध्ययनरत छन् ।

विगत दुई वर्षदेखि यस विद्यालयले उनीहरुलाई विद्यालयमा नै राखेर पठनपाठन गराउने गरेको छ । बाध्यतावश उनीहरुलाई विद्यालयले विद्यालयमै राखेर पढाउने गरेको भए पनि विद्यालसँग आर्थिक अभावका कारण उनीहरुलाई यतिबेला लुगा कपडा तथा पालनपोषण गर्न भने निकै समस्या हुने गरेको छ ।

विद्यालयले उनीहरुलाई पठनपाठन तथा खान सहज बनाउने गरेको भए पनि यहाँ बस्दै गरेका ती अनाथ बालबालिकालाई चिसोको बेलामा वर्षेनी राम्रोराम्रो बाक्लो लुगाकपडा दिन भने निकै समस्या हुने गरेको छ ।

यो विद्यालय प्रायः बाजुराको निकै एक विकट बस्तीमा छ । यहाँ गरिब अनाथ हलिया दलित बालबालिकाहरु विगत दुई वर्षदेखि बस्दै आएका छन् ।

घरमा आफ्नो कोही नएभपछि आफू अहिले यसै विद्यालयमा आएर पढ्ने गरेको यस विद्यालयका कक्षा ३ मा अध्ययनरत छात्रा मिस्टिना ल्वारले बताइन् । उनले भनिन, “बाहिर हिमपात भएको छ । शरीरमा बाक्लो लुगा छैन । धेरै चिसो भएपछि अहिले कक्षा कोठामा नै आगो बालेर पढ्ने गरेका छौ ।”

यता कृषक भने हिउँ परेपछि हर्षित भएका छन् । हिउँले जमिनमा भएका किरा मर्ने भएको र खेती पनि राम्रो हुने गरेकाले उनीहरु हर्षित भएका हुन् ।

प्रतिक्रिया