राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिका–७ खल्ला झगडियाका स्थानीय राप्ती नदीमा आपतकालीन तटबन्ध निर्माण गरिएको छ । जिल्लामा राप्ती नदीको बाढीबाट बस्ती जोगाउन ‘बेम्बोपाइलिङ र आरसिसी प्रकुपाइन’ प्रविधिबाट आपतकालीन तटबन्ध निर्माण गरिएको हो । पछि उनीहरुमा खुसीको सीमा नै रहेको छैन ।
‘तटबन्ध निर्माण भएसँगै बाढीको जोखिम बढेको छ, अब ढुक्कसँग बस्न पाउनेमा विश्वास लागेको छ,’ राप्तीसोनारी–७ का वडाध्यक्ष रामलखन थारुले भने । उनले जनताको तटबन्ध कार्यालयअन्तर्गत लिइएको पहल र तत्परताको प्रशंसा गर्दै यस वर्ष वर्षामा बस्ती जोगिने धारणा राखे । वर्षा सकिएपछि स्थायी तटबन्धको प्रावधान रहेको उल्लेख गर्दै वडाध्यक्ष थारुले तटबन्धपछि स्थानीय निकै खुसी भएका बताए ।
तीन वर्षअघि आधा भत्किएको तटबन्ध ठूलो बाढी आउनेबित्तिकै पूरै भत्केर आधा दर्जन गाउँ डुब्ने खतरा थियो । विसं २०७१ को बाढीपछि राप्ती नदीले धार परिवर्तन गरेपछि खल्ला झगडिया लगायत दर्जनौँ गाउँ डुबानको जोखिममा पर्दै आएका थिए । यस वर्ष जनताको तटबन्ध कार्यालयले जेठ अन्तिमदेखि आपतकालीन तटबन्ध निर्माण गरेपछि स्थानीयवासी बाढीको त्रासबाट मुक्त भएका छन् ।
रु ६ करोड ५० लाख लागतमा पक्की तटबन्ध निर्माण गर्ने ठेक्का अनुसार बस्तीलाई डुबानबाट जोगाउन पहल थालिएको जनातको तटबन्ध कार्यालय लमही (दाङ)ले जनाएको छ । कार्यालय प्रमुख डा नारायणप्रसाद सुवेदीले खल्ला झगडिया र जरैयामा आपत्कालीन तटबन्ध बनाएर यस वर्ष डुबानबाट हुनसक्ने जोखिम न्यूनीकरणको पहल थालिएको उल्लेख गर्दै वर्षापछि स्थायी तटबन्ध निर्माण प्रक्रिया सुरु हुने जानकारी दिए ।
उनले यस्तो प्रविधि पूर्वी नेपाल र पश्चिम राप्ती नदीमा पनि प्रयोग गरिएको भन्दै यो प्रविधिमा खर्च पनि कटौती हुने बताए । ‘हामीले ‘बेम्बोपाइलिङ र कङ्क्रिट प्रकुपाइन’लाई एकीकृत रूपमा प्रयोग गरेका छौँ,’ डा सुवेदीले भने । अनुसन्धानका लागि पनि तटबन्ध निर्माणका क्रममा नयाँ अभ्यास भएको जानकारी दिँदै उनले आफूहरूसँग सिकेर भारतले समेत यस्तो प्रविधिबाट तटबन्ध बनाएको उल्लेख गरे ।
उनका अनुसार आपतकालीन तटबन्धमा बाँस, बालुवा भरिएका प्लास्टिकका बोरा, जाली र सिमेन्टको पोल प्रयोग गरिएको छ । स्थानीयवासी दुर्गा पाण्डेले आपतकालीन तटबन्ध बनेकाले वर्षामा गाउँ डुबानमा नपर्ने विश्वास बढेको बताए । खल्ला झगडियामा निर्माण भएको तटबन्धका कारण देउपुरा, पिप्रहवा, नरैनापुर गाउँपालिका–६ को सोनवर्षा, कुदरवेटवा, गङ्गापुर, भगवानपुर र वडा नं.५ को नवाजीगाउँ, भोजपुर तथा डुडुवा गाउँपालिका–१ को कुडवागाउँ लाभान्वित हुनेछन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार