Listen LIVE

रुपन्देहीमा पाँच सय सिलिन्डर बरामद

रुपन्देही : रुपन्देही जिल्लामा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको छ । व्यापारीले बढी नाफा कमाउने नाममा स्टक भएको ग्याससमेत लुकाएको तथ्य बाहिरिएको छ । 

इलाका प्रशासन कार्यालय बुटवलले ग्यास विक्रेता सङ्घ रुपन्देहीको रोहबरमा बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाका विभिन्न ग्यास डिलरमा संयुक्त अनुगमनमा  १५ वटा डिलरबाट लुकाएर राखिएका पाँच सयभन्दा बढी ग्यास सिलिन्डर फेला परेको जानकारी इलाका प्रशासन कार्यालय बुटवलका नासु रामप्रसाद शर्माले दिए ।

अनुगमन गरिएका ग्यास डिलरमा हेमानी ग्यास -जितगढी), दिव्य दिवस इन्टरप्राइजेज -झोलुङ्गे पुल), न्यु सफल सप्लायर्स -तामनगर), कृतिका दर्शन -ढवाह), न्यौपाने नवस्टोर -तामनगर), पृथ्वी जनप्रिय स्टोर -सैनामैना), बोलबम ट्रेडर्स -सैनामैना), ओम शान्ति सप्लायर्स -सैनामैना), लाङ्घाली बिज्रल एन्ड क्रिसन -सैनामैना) लगायत छन् ।

अनुगमनका क्रममा सैनामैना–५ स्थित लाङ्घाली ग्यास डिलरले तोकिएको मूल्यभन्दा करिब तीन सय रुपएयाँ बढी लिएर ग्यास बिक्री गरेको पनि भेटिएको नासु शर्माले बताए । उनले उपभोक्ताबाट बढी लिइएको रकम तत्काल फिर्ता गराइएको र उक्त डिलरलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरिएको जानकारी दिए । 

ग्यास विक्रेता सङ्घ रुपन्देहीका अध्यक्ष प्रदीपप्रसाद पन्थले जिल्लामा आवश्यकता अनुसार ग्यास आयात भइरहेको बताउँदै कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी गर्ने व्यवसायीलाई सङ्घले संरक्षण नगर्ने बताए ।

प्रतिक्रिया